Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

महानगर र नगर प्रहरीविरुद्ध जाहेरी दिन प्रहरीमा पुग्यो गणेश नेपालीको परिवार

महानगर र नगर प्रहरीविरुद्ध जाहेरी दिन प्रहरीमा पुग्यो गणेश नेपालीको परिवार

सोमवार , आषाढ २९, २०८३

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएर ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीका परिवार ज्यानसम्बन्धी कसुरमा जाहेरी दिन प्रहरी वृत्त कालिमाटी पुगेका छन् ।

प्राप्त जानकारीअनुसार मृतक नेपालीको परिवारले काठमाडौं महानगरपालिका र खटिएका नगर प्रहरीलाई प्रतिवादी बनाएर जाहेरी लेखाउँदैछन् ।

स्रोतका अनुसार कुन मुद्दामा कसलाई प्रतिवादी बनाउने भन्नेबारेमा छलफल गर्न नेपालीको परिवार सोमबार बिहानै त्यहाँ पुगेका थिए । कानुन व्यवसायीहरूको सल्लाहबमोजिम ज्यानसम्बन्धी कसुरमा जाहेरी लेखाउन उनीहरु लेखापढी व्यवसायीकहाँ पुगेको स्रोतले बतायो।

प्रहरी वृत्त कालिमाटीका अनुसार, हालसम्म जाहेरी दर्ता भइसकेको छैन।

प्रत्येक अप्राकृतिक मृत्युमा जाहेरी दर्ता हुने, त्यसपछि पोस्टमार्टम, शव परिवारलाई बुझाउने तथा आवश्यक आधार देखिए कानुनअनुसार मुद्दा अघि बढाइने प्रक्रिया अपनाइन्छ।

गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटमा पार्किङ गरिएको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ह्वील लक लगाएपछि विवाद उत्पन्न भएको थियो।

सोही क्रममा नगर प्रहरीसँग विवाद बढेपछि गणेश नेपालीले मोटरसाइकलको ट्यांकीबाट पेट्रोल झिकी आफ्नो शरीरमा खन्याएर आगो लगाएका थिए । त्यसपछि उपचारका क्रममा  गणेशको मृत्यु भएको थियो।

आइतबार मात्रै नेपालीको परिवार र प्रशासनबीच ९ बुँदे सहमति भएको थियो । 

सहमतिअनुसार घटनाको छानबिन गर्न स्वतन्त्र समिति गठन गरिने, प्रतिवेदनका आधारमा सहिद घोषणा प्रक्रिया अघि बढाइने तथा घटनामा खटिएका नगर प्रहरीलाई छानबिन नसकिँदासम्म निलम्बन गरिनेछ।

यस्तै, मृतककी श्रीमतीलाई रोजगारी, छोरीको उच्च शिक्षाको खर्च, परिवारलाई राहत, स्वास्थ्य बिमा तथा अन्त्येष्टि खर्चको व्यवस्था गर्ने सहमति भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077