Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अन्तिम चरणमा पुगेकाे कोरोनाविरुद्धको खोपको परीक्षण स्थगित

    अन्तिम चरणमा पुगेकाे कोरोनाविरुद्धको खोपको परीक्षण स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, २७ असोज २०७७
  • 2.2K
    SHARES

    एजेन्सी । कोरोनाभाइरस विरुद्धको खोपको अन्तिम चरणको परीक्षण गरिरहेको जोन्सन एन्ड जोन्सन कम्पनीले खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएको भन्दै परीक्षण स्थगित गरेको घोषणा गरेको छ ।

    कम्पनीले एक विज्ञप्ति जारी गरी क्लिनिकल परीक्षणका क्रममा सहभागीमा कुनै किसिमको स्वास्थ्य समस्या आउनु स्वाभाविक रहेको जनाएको छ । खासगरी खोपमा सहभागीहरुको ठूलो संख्या भएपछि एकाध व्यक्तिमा स्वास्थ्य समस्या देखिन्छ, कम्पनीले भनेको छ ।



    कम्पनीका फिजिसियन र सुरक्षा अनुगमन समूहले ती व्यक्तिमा देखिएका स्वास्थ्य समस्याका बारेमा अध्ययन गर्ने बताएको छ । खोप लगाएका व्यक्तिको निजी गोपनीयताको संरक्षण गर्ने भन्दै कम्पनीले ती व्यक्तिका बारेमा केही बताएको छैन ।



    अमेरिकामा ठूलो संख्याका व्यक्तिमा यो खोप लगाइएको छ । ठूलो मेडिकल अध्ययनमा अस्थायी रोकावटलाई सामान्य रुपमा लिइने गरिन्छ । कम्पनीहरुले औषधिको परीक्षणका क्रममा व्यक्तिमा देखिने गम्भीर वा अनपेक्षित प्रतिक्रियालाई अनुसन्धान गर्नुपर्ने हुन्छ ।

    जोन्सन एन्ड जोन्सनको खोप परीक्षण रोकिएको सम्बन्धी पहिलो समाचार स्ट्याटले दिएको थियो । अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रुपमा तयार पारेको खोपको अन्तिम चरणको परीक्षण अहिले अमेरिकामा रोकिएको छ ।

    अमेरिकी अनुसन्धाताहरुले खोपले मानिसमा कुनै स्वास्थ्य जोखिम निम्त्याउने हो वा होइन भन्ने अध्ययन गरिरहेका छन् ।अस्ट्राजेनिका–अक्सफोर्डको खोप लगाएकी एक महिलामा स्नायुप्रणालीमा समस्या आएपछि खोप परीक्षण स्थगित गरिएको थियो । तर यस खोपको परीक्षण अन्य मुलुकमा जारी रहेको छ ।

    जोन्सन एन्ड जोन्सनले खोपको एक डोजले नै कोरोनाभाइरसबाट सुरक्षा दिने गरी तयार पारेको आफ्नो खोपमा ६० हजार व्यक्तिलाई सहभागी गराउने लक्ष राखेको छ ।

    अमेरिकाका अन्य कम्पनीले भने कोरोनाभाइरसबाट सुरक्षित राख्न व्यक्तिलाई खोपको दुई डोज लगाउने गरी खोप निर्माण गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार