Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • लुगाले कोभिड रोक्ने दाबी गर्ने कम्पनीलाई अस्ट्रेलियामा ५० लाख डलर जरिवाना

    लुगाले कोभिड रोक्ने दाबी गर्ने कम्पनीलाई अस्ट्रेलियामा ५० लाख डलर जरिवाना

    अनलाइन नेपाल
  • सोमबार, ११ साउन २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । आफ्नो एउटा परिधानले कोरोनाभाइरस नाश गरेको तथा कोभिड-१९ को विस्तारलाई रोकिदिएको दाबी गरेपछि अस्ट्रेलियामा व्यायाम तथा खेलकुदमा प्रयोग हुने विभिन्न वस्त्र बनाउने एउटा कम्पनी कारबाहीमा परेको छ।

    एक्टिभवेअर फर्म ‘लोर्ना जेन’ले “सबै रोगकारक कीटाणुको विस्तार” रोक्न आफ्नो परिधानमा ‘एलजे शील्ड’ नामक “अभूतपूर्व प्रविधि” प्रयोग गरिएको भन्दै विज्ञापन गरेको थियो।



    तथ्यहीन दाबीका लागि उसलाई ५० लाख अस्ट्रेलियाली डलर जरिवाना तिराइएको छ। सङ्घीय अदालतका एक न्यायाधीशले आफ्नो आदेशमा उक्त कम्पनीको दाबी “शोषणकारी, हिंसक र खतरनाक” भएको उल्लेख गरेका छन्।



    लोर्ना जेनले अदालतको आदेश स्वीकार गर्ने बताएको छ। तर उसले प्रविधि आपूर्तिकर्ताले आफूलाई झुक्याएको दाबी गरेको छ। “एउटा विश्वसनीय आपूर्तिकर्ताले हामीलाई एउटा उत्पादन बेच्यो तर त्यसले भने जसरी काम गरेन,” लोर्ना जेनका प्रमुख कार्यकारी बिल क्लार्कसनले भने। “उनीहरूले हामीलाई एलजे शील्डको प्रविधि अस्ट्रेलिया बाहेक अन्यत्र अमेरिका, चीन र ताइवानमा विक्री भइरहेको तथा त्यो एन्टी-ब्याक्टेरियल र एन्टी-भाइरल भएको विश्वास दिलाए। हामीले उपोक्तालाई फाइदा पुग्छ भन्ने ठान्यौँ।”

    उक्त कम्पनीले कोभिड महामारीका बेला गत जुलाई महिनामा आफूले उत्पादन गरेको परिधान बजारमा पुर्‍याउने अभियान थालेपछि देशको उपभोक्ता आयोग एसीसीसीले कानुनी कारबाही सुरु गरेको थियो।

    गत साता शुक्रवार उक्त मुद्दामा निर्णय दिँदै सङ्घीय अदालतले लोर्ना जेनले विज्ञापनमा आफूसँग “युक्तिसङ्गत वैज्ञानिक वा प्राविधिक आधार” भएको दाबी उपभोक्तासँग गरेको तर त्यसो नभएको ठहर गरेको छ।

    उपभोक्तासँग मिथ्या र भ्रामक कुरा गरेको तथा सर्वसाधारणलाई झुक्याउने काम गरेको भन्दै अदालतले उक्त कम्पनीलाई जरिवाना तिराएको हो।

    एसीसीसीका अध्यक्षले भने, “यो डरलाग्दो काम थियो किनभने यसमा जनस्वास्थ्यसम्बन्धी गम्भीर दाबी गरिएको थियो जबकि त्यसका लागि कुनै आधार थिएन।” “पूरै मार्केटिङ अभियान विश्वव्यापी महामारीविरुद्ध बृहत्तर सुरक्षा होस् भन्ने उपभोक्ताहरूको चाहनामा आधारित थियो,” उनले भने।

    कम्पनीकी संस्थापक लोर्ना जेन क्लार्कसनले एलजे शील्ड एक्टिभवेअरको प्रवर्धनसम्बन्धी सामग्री अनुमोदन गरेको तथा व्यक्तिगत रूपमा एउटा प्रेस विज्ञप्ति र इन्स्टाग्राम भिडिओमा मिथ्या टिप्पणीहरू गरेको स्वीकार गरेको लोर्ना जोनले स्वीकार गरेको छ।

    न्यायाधीशले कम्पनीको उच्च व्यवस्थापकीय तहबाट त्यस्तो व्यवहार भएको र क्लार्कसनबाट निर्देशित भएको कुरा आफ्नो ध्यानमा परेको जनाए।

    इङ्ग्ल्यान्डको ल्याङ्कशरमा जन्मिएकी क्लार्कसन बाल्यकालमा सपरिवार अस्ट्रेलिया बसाइँ सरेकी थिइन्। उनले ३० वर्षभन्दा अघिदेखि नै आफ्नो व्यवसाय सुरु गरेकी हुन्।

    लोर्ना जेनका पसलहरू अस्ट्रेलिया, न्यूजील्यान्ड, अमेरिका र सिङ्गापुरमा छन्। अदालतले उक्त कम्पनीलाई आफ्नो विज्ञापन सच्याएर सूचना प्रकाशित गर्न निर्देशन दिएको छ।

    अदालतको आदेशानुसार पर्याप्त आधारबिना उक्त कम्पनीले तीन वर्ष आफूले उत्पादन गर्ने परिधानले भाइरस नियन्त्रण गर्ने कुनै दाबी गर्न पाउनेछैन। केही समयअघि उक्त कम्पनीलाई कोभिडबारे अवैधानिक विज्ञापन गरेको भन्दै ४०,००० अस्ट्रेलियाली डलर जरिवाना तिराइएको थियो। (स्रोत :बीबीसी)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार