Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • न्यायाधीशले अपहरणका नाइकेलाई सफाइ दिएपछि प्रहरीद्वारा छानविन समिति गठन

    न्यायाधीशले अपहरणका नाइकेलाई सफाइ दिएपछि प्रहरीद्वारा छानविन समिति गठन

    अनलाइन नेपाल
  • सोमबार, ११ असोज २०७८
  • 4.1K
    SHARES

    काठमाडौं । भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावललाई १ करोड ५० लाख रुपैयाँ फिरौती असुलीमा संलग्न उदय सेठ्ठी समूहका कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले गत पुसमा भारतबाट पक्राउ गरी अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा मुद्दा चलायो ।

    झण्डै १३ वर्ष अघि अर्थात १ पुस २०६५ मा रावल अपहरणमा परेका थिए । साढे १ करोड रुपैयाँ फिरौती बुझाएर रावल रिहा भएपछि मात्र प्रहरी उनलाई राखिएको महाराजगञ्जको घरमा पुगेको थियो ।



    उक्त अपहरण प्रकरणमा संलग्न रहेका सेठ्ठी, प्रह्लाद महतसहित विष्णु जिसी, टासी गुरुङ, विकासबहादुर कार्की र मानवदेव गुरुङलाई महानगरीय अपराध महाशाखाको टोलीले २०६६ पुसमा पक्राउ गरी मुद्दा चलाएको थियो ।



    उनीहरुलाई काठमाडौं जिल्ला अदालतले १२ वर्ष कैद र जरिवाना समेत हुनेगरी गरेको फैसलालाई सर्वोच्च अदालतले २०७७ असार २१ गते अपराध ठहर हुने गरी सदर गरिसकेको छ ।

    तर, सोही समूहमा रहेका बुढाथोकीलाई भने प्रहरी अनुसन्धानको कमजोरीमा टेकेर अदालतलले सफाइ दिएपछि महानगरिय प्रहरी कार्यालयले थप अनुसन्धानका लागि भन्दै छानबिन समिति गठन गरेको छ । प्रहरीले प्रतिवादीको नागरिकता पुष्टि नगरी सरकारी वकिलको कार्यालयमा बुझाउँदा सफाई पाएको सार्वजनिक भएपछि छानबिन समिति गठन गरेको हो।

    भारतको दार्जिलिङ बजारमा प्रकाश क्षेत्रीको नामले परिचित भई प्रकाश स्टोर्स नामक कपडाको होलसेल पसल संचालन गरी लुकेर बस्दै आएका उनलाई काठमाडौं जिल्लाका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजालसले सफाइ दिएको थियो ।

    पीडित रावलले आफूलाई अपहरण गर्ने कार्यमा संलग्न रहेको व्यक्तिमध्ये बुढाथोकी पनि एक भएको बयान दिइरहेका बेला न्यायाधीस निरौलाले भने आरोप पुष्टि नहुने ठहर गरेका हुन् । तर, गत माघमा भने उनै निरौलाले नै बुढाथोकीलाई पुर्पक्षका लागि थुनामा पठाएका थिए ।

    बुढाथोकीले आफू दुर्गाबहादुर नभएको दावी गर्दै आएका छन् । तर बुढाथोकी सफाइ पाएपछि भारत पुगिसकेको स्रोत वताउँछ ।

    ‘अभियोग पत्र पेश गर्दा उनी नेपालको यो स्थानमा बस्ने वा नेपालको सर्लाही जिल्ला बागमती नगरपालिका वडा नं.–२ का वासिन्दा हुन् भन्ने प्रमाण पेश भएको छैन । उनी नेपालको नागरिक हो भन्ने प्रमाण नभई व्यक्तिको पहिचान नै भएको देखिँदैन । यस्तो अवस्थामा शरीर बन्धक तथा अपहरण गर्ने जस्तो अभियोगमा अभियुक्तको स्पष्ट पहिचान मिसिलमा पेश गर्न नसक्दा यी प्रतिवादीको हकमा पुष्टि हुन नसक्ने ठहर हुन्छ ।’ आदेशमा भनिएको छ ।

    तर, प्रहरीले भने उनको तीन पुस्ते नै सार्वजनिक गरिसकेको छ । इलाका प्रहरी कार्यालय हरिवन, सर्लाहीले काठमाडौंलाई पठाएको पत्रमा ढुंग्रेखोला–५ सर्लाहीका बुढाथोकीले २०५६/४/२८ गते बंसजको आधारमा नागरिकता लिएको उल्लेख गरिएको छ । उनको नागरिकता नम्बर ५४९८०३०१ हो भने उनको बुबाको नाम कृतिबहादुर बुढाथोकी हो ।

    चोरी र डकैतीमा संलग्न बुढाथोकी २०६४ सालमा बानेश्वर प्रहरीको हिरासत तोडेर भागेका अभियुक्त समेत हुन् । प्रहरीले रेकर्ड गरेको भिडियोमा पनि उनले ‘मेरो नाम सोलेबहादुर बुढाथोकी हो । मेरो बोलाउने नाम कुमार हो । साथीहरुले मलाई सोले भनेर पनि जिस्काउँछन् । म बैंकिङ केशमा चोरी केशमा पनि थिएँ । थुनामा परेँ, त्यहाँबाट पनि भागेँ ।…. ’ भनेका छन् । जुन बयानले पनि उनी नै कुमार बुढाथोकी हो भन्ने पुष्टि गर्छ ।

    अहिले न्यायाधीस निरौलाले आफैंले पुर्पक्षका लागि थुनामा पठाएका व्यक्ति दुर्गाबहादुर नभएको भन्दै सफाइ दिएपछि प्रहरीले आफ्नै अनुसन्धान कमजोर भएको ठहर गर्दै छानविन समिति बनाएको हो ।

    महानगरिय कार्यालयले एसएसपी चक्रबहादुर सिंहको नेतृत्वमा छानबिन समिति बनाएको हो । समितिमा एसपी कृष्ण कोइराला, डीएसपी रबिन कार्की, निरीक्षक ईश्वर कार्की र सई घनश्याम उप्रेती सदस्य रहेका छन् । समितिलाई अपहरण प्रकरणमा प्रहरीको भूमिकाबारे अनुसन्धान गरेर प्रतिवेदन बुझाउने कार्यदेश दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार