Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ओमिक्रोनको त्रास: सम्भावित लकडाउनबारे के भन्छन् त उपत्यकाका सीडीओ ?

    ओमिक्रोनको त्रास: सम्भावित लकडाउनबारे के भन्छन् त उपत्यकाका सीडीओ ?

    अनलाइन नेपाल
  • बुधबार, २२ मंसिर २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपालमा ओमिक्रोन भेरियन्टका दुईजना सङ्क्रमित फेला परेसँगै खासगरी काठमाडौँ उपत्यकामा सम्भावित प्रतिबन्धात्मक कदमलाई लिएर सर्वसाधारणले चासो व्यक्त गर्न थालेका छन्।

    सामाजिक दूरी, मास्कको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्डको पालनामा फेरि कडाइ गर्नुपर्ने विज्ञहरूले सुझाइरहँदा कतिपय मानिस सम्भावित लकडाउनलाई लिएर झस्केका हुन्।



    ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्तिमा सङ्क्रमण भेटिएको सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको थियो।



    दक्षिण अफ्रिकामा पहिलोपटक फेला परेको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म भारतसहित ४० भन्दा बढी देशमा फैलिसकेको छ ।

    यसै बिषयमा बीबीसीले सम्भावित लकडाउनबारे काठमाडौँ उपत्यकाका सीडीओसँग कुराकानी गरेको छ । प्रस्तुत छ बीबीसीको कुराकानीमा सीडीओहरुको प्रतिक्रिया:-

    कोभिड महामारी शुरू भएयता नियन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासनहरूले एकसाथ प्रतिबन्धात्मक कदमहरू चाल्दै आएका छन्।

    उपत्यकामै ओमिक्रोनका सङ्क्रमित भेटिनुलाई आफूहरूले “गम्भीर” रूपमा लिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल बताउँछन्।

    ‘अब छिट्टै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेर हाम्रो तर्फबाट गर्नुपर्ने पूर्वतयारी र पूर्वसावधानीका उपाय के कस्ता हुनसक्छन् भन्नेबारे हामी एउटा निचोडमा पुग्छौँ,’ रिजालले भने।

    विगतमा जस्तै लकडाउन गर्ने वा नगर्ने विषय सङ्क्रमणको अवस्थाले निर्धारण गर्ने सीडीओ रिजालले स्पष्ट पारे।

    ‘सङ्क्रमितहरू बढ्दै गए र नियन्त्रणका लागि हामीले विभिन्न निषेधात्मक उपाय अपनाउनुपर्ने अवस्था सिर्जना भयो भने लकडाउनमा पनि जान सकिन्छ। तर अहिले नै लकडाउन वा निषेधाज्ञा जारी हुन्छ जस्तो लाग्दैन,’ उनले थपे।

    यद्यपि आउँदा दिनमा देखिनसक्ने प्रतिकूल अवस्थासँग जुझ्नका लागि अनौपचारिक तयारी थालिएको रिजालले बताए।

    यस्तै, पछिल्लो घटनाक्रमलाई लिएर उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरूबीच कुराकानी भइरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्।

    ‘हामीले निर्णय गरिसकेकै अवस्था चाहिँ होइन। अहिलेको स्थितिको मूल्याङ्कन गरी सामूहिक रूपमा बैठक बसेर हामीले उचित निर्णय लिनेछौँ,’ शर्माले भनिन्।

    त्यसअघि विगतमा जस्तै सङ्क्रामक रोग विशेषज्ञ, जनस्वास्थ्यविद्‌लगायत पक्षसँग परामर्श गरिने सीडीओ शर्माले बताइन्।

    जनस्वास्थ्यका मापदण्डको पालनामा पछिल्लो समय हेलचेक्र्याइँ भइरहेको विज्ञहरूको गुनासोकाबीच तत्काल कडाइ हुनसक्ने सम्भावनालाई चाहिँ उनले नकारिनन्।

    ‘कडाइ हुनसक्छ। नियन्त्रणको एउटा प्रभावकारी माध्यम भनेकै जनस्वास्थ्यका मापदण्डको पालना हो। सङ्क्रमण बढ्दै गएको अवस्थामा हामीले त्यही अनुसारको नीति पक्कै पनि लिनेछौँ,’ सीडीओ शर्माले थपिन्।

    आफ्नो जिल्लामा फेला परेका ओमिक्रोन सङ्क्रमितबाटै अरू मानिसहरूलाई फैलने अवस्था नभए पनि पूर्वसावधानीहरू अपनाइसकिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए।

    ‘तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू औपचारिक/अनौचारिक रूपमा बसिरहेका छौँ। गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय भइरहेको छ,’ उपाध्यायले भने।

    ‘स्थितिको आकलन गर्दै भावी रणनीति तय गर्ने हो । अलिकति असहज परिपस्थिति आएपछि त्यसको सामना गर्नेगरी सतर्कतापूर्वक तयारी गरिरहेका छौ।’ अहिले पनि आफूहरूले धेरै भिडभाड हुने खालका गतिविधि नगर्न प्रोत्साहित गर्दै आएको प्रजिअ उपाध्यायले बताए। बीबीसीको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार