Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • भारतमा ओमिक्रोन: दिल्लीमा ‘यल्लो अलर्ट’ जारी, फिल्महल पनि बन्द

    भारतमा ओमिक्रोन: दिल्लीमा ‘यल्लो अलर्ट’ जारी, फिल्महल पनि बन्द

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा फेरि कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि ‘येलो अलर्ट’ भनिने चेतावनी जारी गरिएको छ।

    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सङ्क्रमित मानिसको सङ्ख्या बढिरहेको भए पनि डराइहाल्नुपर्ने अवस्था भने नरहेको बताएका छन्। कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण बढेको देखिएपछि दिल्ली सरकारले त्यस्तो घोषणा गरेको हो।



    लगातार दुई दिन सङ्क्रमण पुष्टि हुने दर ०.५ प्रतिशतभन्दा बढी भएको अवस्थामा चेतावनी जारी गरिने दिल्लीको मापदण्डअनुसार येलो अलर्ट जारी गरिएको केजरीवालले बताएका छन्।



    चेतावनीसँगै चलचित्रघर र व्यायामशाला बन्द भए पनि शपिङ सेन्टर र पसलहरू जोरबिजोर दिनका आधारमा बिहान १० बजेदेखि राति ८ बजेसम्म खुला रहने आदेश जारी गरिएको बीबीसी हिन्दीले जनाएको छ।

    दिल्लीमा यसअघि नै राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ भने विद्यालय र क्याम्पसहरू बन्द भइसकेका छन्।विवाहमा बढीमा २० जनासम्म मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको मुख्यमन्त्री केजरीवालले जनाएका छन्।

    भारतको राजधानी दिल्लीमा सोमवारदेखि रात्रिकालीन कर्फ्यू लगाइएको छ दिल्लीको मेट्रो रेल, रेस्टुराँ र बारलाई तिनको क्षमताको ५० प्रतिशत मानिस मात्रै रहनेगरी सञ्चालन गर्न दिइएको छ।

    सरकारले प्रकाशित गरेको तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा दिल्लीमा ३३१ जनामा कोभिड पुष्टि भएको छ। उक्त सङ्ख्या पछिल्लो छ महिनायताकै सर्वाधिक भएको बताइएको छ।

    मङ्गलवार प्रकाशित तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा दिल्लीमा कोभिडका कारण एक जनाको मृत्यु भएको छ। त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या ९०० भन्दा बढी छ।

    दिल्लीबाहेक अरू कैयौँ भारतीय राज्यले पनि रात्रिकालीन निषेधाज्ञा जारी गरेका छन् र मानिसहरूलाई भेला हुन रोकिरहेका छन्। तर कैयौँ मानिसले अधिकांश ठूला भेला दिनमा हुने गरेका भन्दै रात्रिकालीन निषेधाज्ञा कति प्रभावकारी हुन्छ भनेर प्रश्न गरेका छन्।

    अहिलेसम्म भारतमा ५०० जनाभन्दा बढीमा ओमिक्रोनबाट सङ्क्रमण भएको पुष्टि भएको छ। ओमिक्रोन भेरिअन्टको बढ्दो सङ्क्रमणबीच भारतले मङ्गलवार कोभिडविरुद्ध प्रयोग गर्न दुईवटा नयाँ खोप र एउटा एन्टिभाइरल औषधिलाई अनुमति दिएको छ।

    भारतका स्वास्थ्यमन्त्री डा. मनसुख मण्डावियाले कोर्बीभ्याक्स र कोभोभ्याक्स नामका नयाँ खोपलाई अनुमति दिइएको सामाजिक सञ्जाल ट्विटर मार्फत् जानकारी गराएका छन्। भारतमा भाइरल सङ्क्रमणविरुद्ध औषधि मोल्नुपिराभिरलाई पनि आपत्कालीन प्रयोग र उत्पादनको अनुमति दिइएको छ।

    कोभिडविरुद्ध प्रभावकारी देखिएको मोल्नुपिराभिरलाई भारतमा १३ वटा कम्पनीले उत्पादन गर्ने स्वास्थ्यमन्त्री मण्डावियाले जनाएका छन्। यो औषधि कोरोनाभाइरस सङ्क्रमणपछि जोखिम हुन सक्ने वयस्कहरूलाई दिन सकिने जनाइएको छ। बीबीसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार