Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ओमिक्रोन त्रास : एक महिना अगाडिको आदेश परिवर्तन

    कोभिड लक्षण नदेखिएका यात्रुहरु अब सिधै घर जान पाउने

    कोभिड लक्षण नदेखिएका यात्रुहरु अब सिधै घर जान पाउने

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले कोभिड–संक्रमणको नयाँ भेरिएन्ट ओमिक्रोनको रोकथाम तथा न्युनीकरण गर्न एक महिनाअघि जारी आदेश खुकुलो बनाएको छ ।

    नयाँ आदेश अनुसार अब पूर्ण खोप लगाएका र ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट नेगेटिभ भएका नेपालीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै घर जान सक्ने छन् ।



    संक्रमणको जोखिम भएका देशबाट आउँदा सात दिन आफ्नै खर्चमा अनिवार्य रुपमा तोकिएको होटल क्वारेन्टिनमा बस्नुपर्ने २०७८ मंसिर १३ गतेको मन्त्रिपरिषदबाट स्वीकृत आदेशलाई खुकुलो बनाउँदै दुवै खोप लगाएका र ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट नेगेटिभ भएमा १० दिन ‘होम क्वारिन्टिन’मै बस्न सक्ने व्यवस्था गरेको हो ।



    नयाँ प्रावधान कार्यान्वयनका लागि गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग र सबै जिल्ला प्रशासन कार्यालयलाई शुक्रबार आन्तिरिक सर्कुलर गरेको छ । यद्यपी उक्त निर्णय राजपत्रमा भने प्रकाशित भएको छैन ।

    पुस ८ मा बसेको मन्त्रिपरिषद बैठकले ओमिक्रोन भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी निर्णय गरे पनि शुक्रबारमात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाएको थियो ।

    गृहले मन्त्रिपरिषद्‌को निर्णय कार्यान्वयन गर्न शुक्रबार नै मातहत सुरक्षा निकाय, अध्यागमन विभाग र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ ।

    त्यस्तै खोपको मात्रा पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका कूटनीतिक, अफिसियल र आवासीय भिसा प्राप्त गरेका विदेशीको नेपाल प्रवेश विन्दुमा एन्टिजेन्ट परीक्षण गर्ने’ व्यवस्था मिलाइने पनि निर्णय भएको छ ।

    ओमिक्रोनको संक्रमण देखिएका देशबाट नेपाल आउने वा ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन साताभित्र ती मुलुकको भ्रमण गरेका यात्रुहरुलाई २०७८ मंसिर १६ गते रातिबाट नेपाल प्रवेश नदिने निर्णय भएको थियो ।

    यो निर्णय हुँदाका बखत ट्रान्जिटमा रहेका सम्पूर्ण यात्रुहरु नेपाल आगमनपश्चात् आफ्नै खर्चमा अनिवार्य रुपमा सात दिन होटल क्वारेन्टिनमा बस्नु पर्ने भनिएको थियो । तर, अब भने पूर्ण खोप लगाएर आएको र लक्षण नदेखिएको अवस्थामा सिधै घर जान पाउने व्यवस्था जारी हुन लागेको हो । यसले गर्दा अब त्यसरी विदेशबाट आउनेहरुले होम क्वारेन्टिमै बस्न पाउने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार