Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • युक्रेनबारे विवादास्पद टिप्पणीका कारण जर्मन नौसेना प्रमुखले दिए राजीनामा

    युक्रेनबारे विवादास्पद टिप्पणीका कारण जर्मन नौसेना प्रमुखले दिए राजीनामा

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । युक्रेनबारे विवादास्पद टिप्पणी गरेसँगै जर्मनीका नौसेना प्रमुखले राजीनामा दिएका छन् । के-खिम श्योनबाखले युक्रेनमाथि रुसले आक्रमण गर्न चाहेको भन्ने कुरा बकवास रहेको बताएका थिए।

    उनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले मात्र सम्मान खोजेको पनि बताएका थिए । युक्रेनलाई अमेरिका र यूकेसहितका अन्य केही राष्ट्रहरूले हातहतियार उपलब्ध गराएका छन् । तर जर्मनीले भने हतियार उपलब्ध गराउन युक्रेनले गरेको आग्रह अस्वीकार गरेको छ।



    पुटिनले पश्चिमा राष्ट्रहरूसमक्ष केही मागहरू अघि सारेका छन्, जसमा रुसी सुरक्षा चासोहरू समेटिएको उनको भनाइ छ। युक्रेनलाई सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोको सदस्य बन्नबाट रोकिनुपर्ने रुसले माग गरेको छ।



    रुसमाथि प्रत्यक्ष सुरक्षा खतरा हुने भन्दै नेटोले पूर्वी युरोपमा सैन्य अभ्यास गर्न अनि हतियार पठाउन बन्द गर्नुपर्ने पुटिन चाहन्छन्। यसैबीच, युक्रेन सरकारको नेतृत्वमा मस्को समर्थक व्यक्ति ल्याउनका लागि पुटिनले षड्यन्त्र गरेको यूकेले आरोप लगाएको छ।

    श्योनबाखले के भनेका थिए?
    शुक्रवार भारतमा एउटा थिङ्क ट्याङ्कले आयोजना गरेको छलफलमा आफ्नो विचार राख्ने क्रममा उनले त्यस्तो टिप्पणी गरेका थिए । उक्त भिडिओ पछि सामाजिक सञ्जालमा प्रसारण गरिएको थियो।

    भिडियोमा उनले पश्चिमा राष्ट्रहरूले पुटिनलाई समान रूपमा व्यवहार गर्न आवश्यक रहेको उल्लेख गरेका छन्। ‘उनले माग गरेजस्तै सम्मान दिन सजिलो छ र सम्भवतः उनी त्यसका लागि योग्य पनि छन्,’ श्योनबाखले भनेका छन्।

    युक्रेनको विदेश मन्त्रालयले श्योनबाखको टिप्पणीलाई ‘स्पष्ट रूपमा अस्वीकार्य’ रूपमा व्याख्या गरेको छ। शनिवार श्योनबाखले ‘थप क्षति हुन नदिन’ आफ्नो पदबाट ‘तत्काल लागु हुने गरी’ राजीनामा गरेको बताएका छन्।

    युक्रेनको सीमा नजिकै एक लाख रुसी सेना तैनाथ गरिएसँगै युरोपमा नयाँ द्वन्द्व सुरु हुनसक्ने जोखिम रहेको नेटोका प्रमुखले चेतावनी दिएका छन् । अमेरिकाले उपलब्ध गराएको झन्डै ९० टन बराबर ‘हातहतियार सहायता’ युक्रेन पुगेको छ।

    यूकेले पनि केही दिन अघि युक्रेनमा प्रतिरक्षाका लागि प्रयोग गर्न सकिने हतियार अनि तालिमका लागि थप सैन्य बल पठाउन लागेको घोषणा गरेको थियो।
    कैयौँ अन्य नेटोका सदस्य राष्ट्रहरूले सैन्य सामग्री पठाइरहेका वा सेना खटाएका छन्। बीबीसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार