Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • यस्तो छ स्वामीकार्तिक खापर, थबाङ, हरिनास, लिम्चुङवुङ र मेन्छ्यायेम गाउँपालिकाको अन्तिम मतपरिणाम (विजयी उम्मेदवारको सूचीसहित)

    यस्तो छ स्वामीकार्तिक खापर, थबाङ, हरिनास, लिम्चुङवुङ र मेन्छ्यायेम गाउँपालिकाको अन्तिम मतपरिणाम (विजयी उम्मेदवारको सूचीसहित)

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउेक्रम जारी छ । हालसम्मको तथ्यांकलाई हेर्ने हो भने ३५ वटा पालिकाको मतगणना सकिएको छ । जसमध्ये सबैभन्दा बढी नेकपा एमालेले १४ वटा पालिकामा जित हाँसिल गरेको छ भने दोस्रो र तेस्रोमा नेपाली कांग्रेस र माओवादी केन्द्रले क्रमशः ११ र ८ वटा पालिकामा जित हाँसिल गरेको छ । नेकपा एकीकृत समाजवादी भने २ वटा पालिकामा निर्विरोध चयन भएको छ ।

    यस्तो छ पछिल्लो अपडेट
    स्वामीकार्तिक खापरमा कांग्रेसका रोकाया विजयी
    बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर रोकाया अध्यक्षमा विजयी भएका छन् । रोकायाले एमालेका चतुर्भूज शाहीलाई पराजित गरेका हुन् ।



    रोकायाले दुई हजार ११ मत प्राप्त गरेका छन् भने एमालेका शाहीले एक हजार ७५७ मत पाए । गठबन्धनका उम्मेदवार नेकपा एसका चिरन्जीवी शाही भने तेस्रो भए । शाहीले एक हजार २८२ मत मात्र पाए ।



    उपाध्यक्षमा कांग्रेसकी मैना जोशीले एक हजार ८१० मत पाएर विजयी भएकी छिन् । उनले एक हजार ६३७ मत ल्याएर एमाले उम्मेदवार सुलोचना कुमारी भण्डारीलाई पराजित गरेकी हुन् । गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रका सुरेशबहादुर रोकाया तेस्रो भए । उनले एक हजार २१३ मत मात्र पाएका छन् ।

    अहिले निर्वाचित अध्यक्ष रोकाया र उपाध्यक्ष जोशी यस अघिको स्थानीय निर्वाचन ०७४ मा सोही पदमा एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।

    पाँच वटा वडा रहेको स्वमीकार्तिकमा २, ४ र ५ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवारहरु क्रमश बिष्णुबहादुर बुढा, सिंह धामी र अमर बहादुर सिंह विजयी भएका छन् । वडा नम्बर १ मा माओवादी केन्द्रका अजय बहादुर बिक विजयी भए भने ३ नम्बर वडामा एमाले उम्मेदवार प्रेमबहादुर कटेल वडाध्यक्ष पदमा चुनिएका छन् ।

    थबाङमा माओवादी केन्द्र विजयी
    रोल्पाको थबाङमा पुनः माओवादी केन्द्रले विजय हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर र उपाध्यक्षमा माओवादी केन्द्रकै शर्मिला बुढामगर विजयी भएका छन् ।

    अध्यक्षमा ऋषिकेशवले २ हजार १ सय २२ मत ल्याएका छन् भने उपाध्यक्ष शर्मिलाले पनि २ हजार १ सय २२ मत ल्याएर विजयी भएकी हुन् । अध्यक्ष र उपाध्यक्षका निकटम प्रतिद्वन्द्वीहरू दलजित रोकामगरले १ हजार ५ सय ६ र रायबहादुर पुनमगरले १ हजार ४ सय ६८ मत पाएका थिए ।

    निर्वाचनमा भाग लिन माओवादी केन्द्रका उम्मेदवारविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, एमाले र कांग्रेसबीच गठबन्धन बनाइएको थियो । दलजित र रायबहादुरले गठबन्धनको समर्थनमा स्वतन्त्रको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए ।

    अघिल्लो पटकको निर्वाचनमा माओवादी केन्द्रकै वीरबहादुर घर्तीमगर र रामकिरणी रोकामगर अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए । नवनिर्वाचित अध्यक्ष ऋषिकेशव माओवादी केन्द्रका पूर्वलडाकु कमान्डरसमेत हुन् ।

    ५ वटा वडा रहेको थबाङमा वडा नं. ४ मा बाहेक माओवादी केन्द्रकै प्यानल विजयी भएका छन् । वडा नं. ४ उवामा एमालेका उम्मेदवार हिक्मत घर्तीमगरको प्यानल नै विजयी भएको छ ।

    वडा नं. १ मा हिराबहादुर बुढामगर, २ मा अविलाशा रोकामगर, ३ मा जनक बुढामगर र ५ मा गोवर्द्धन घर्तिमगर माओवादीको तर्फबाट हुन् ।

    हरिनास गाउँपालिकामा एमालेका खिमनारायण विजयी
    स्याङ्जाको हरिनास गाउँपालिकामा नेकपा एमालेका खिमनारायण मानन्धर दोस्रोपटक विजयी भएका छन् । यसअघि ५ वर्ष गाउँपालिकाको नेतृत्व सम्हालेका मानन्धरले प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका टोमबहादुर भुजेललाई ३७ मतान्तरले पराजित गर्दै विजेता घोषित भएका हुन् ।

    मानन्धरले ४ हजार ७ सय ६९ मत प्राप्त गरेका छन् भने कांग्रेसका भुजेलले ४ हजार ७ सय ३२ मत प्राप्त गरेका छन् ।

    यस्तै, उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी थापा राना विजयी भएकी छन् । नेकपा माओवादीकी मिठु लम्साललाई २४ मतले पराजित गर्दै उनी विजयी भएकी हुन् । रानाले ४ हजार ७ सय ४० मत प्राप्त गरेकी छन् भने लम्सालले ४ हजार ७ सय १६ मत प्राप्त गरेकी छन् ।

    त्यसैगरी, हरिनासका ७ वटा वडामध्ये १ मा कांग्रेसका इन्द्रबहादुर गुरुङ, २ मा कांग्रेसकै चित्रबहादुर थापा, ३ मा एमालेका ओमप्रकाश सिग्देल, ४ मा एमालेकै सन्तबहादुर थापा, ५ मा कांग्रेसका निर्मल लम्साल, ६ मा एमालेका विरबहादुर राना र ७ मा एमालेकै भरत थापा विजयी भएका छन् ।

    लिम्चुङवुङमा माओवादीका राई निर्वाचित
    उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मेजर राई निर्वाचित भएका छन् । उनी २०७४ सालका निर्वाचित अध्यक्ष पनि हुन् ।

    त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार पुष्पलाल राई निर्वाचित भएका छन् । अध्यक्ष राईले २ हजार ५१ मत प्राप्त गरेका छन् । उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार राजकुमार राईलाई ४ सय ६२ मतान्तरले पराजित गरेका हुन् । पराजित राईले १ हजार ५ सय ८९ मत ल्याएका छन् ।

    उपाध्यक्ष निर्वाचित राईले १ हजार ९ सय ३३ मत ल्याएका छन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी देविकुमारी कार्कीले १ हजार ७३ मत ल्याएकी छन् ।

    ५ वटा वडा रहेको लिम्चुङबुङ गाउँपालिकामा क्रमशः माओवादीका जनदिप थापामगर, माओवादीकै जितेन राई, स्वतन्त्रबाट गुरुमणि कुमाई, जनता समाजवादी पार्टीका क्षत्रबहादुर राई र नेपाली कांग्रेसका कविचन्द्र राई निर्वाचित भएका छन् ।

    मेन्छयायेम एमालेका खापुङ विजयी
    तेह्रथुमको मेन्छयायेम गाउँपालिकाको अध्यक्षमा यादवबहादुर खापुङ र उपाध्यक्षमा गीतादेवी तिम्सीना दोहोरिएका छन् । २०७४ को निर्वाचनमा पनि फरक–फरक दलबाट अध्यक्ष र उपाध्यक्ष जितेका खापुङ र तिम्सिनाले यसपटक पनि विजयी भएका हुन् ।

    अध्यक्ष उम्मेदवार खापुङ नेकपा एमालेका उम्मेदवार हुन् भने उपाध्यक्ष तिम्सिना नेपाली कांग्रेसकी उम्मेदवार हुन् । यहाँ एमालेको उपाध्यक्ष उम्मेदवार र कांग्रेसका अध्यक्ष उम्मेदवार यसपटक पनि पराजित भएका छन् ।

    अध्यक्षमा निर्वाचित खापुङले २ हजार ५५ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका धनकुमार लिम्बुलाई ३४ मतले पछि पार्दै खापुङले विजय हासिल गरेका हुन् । लिम्वुले २ हजार २१ मत प्राप्त गरे ।

    उपाध्यक्षमा तिम्सिनाले १ हजार ९ सय ८६ मत प्राप्त गरिन् । एमालेकी प्रेमलता घिमिरेले १ हजार ९ सय ७४ मत प्राप्त गरिन् ।

    मेन्छयायेममा १, ४, ५, र ६ नम्वर वडामा एमाले विजयी भएको भने २ र ३ नम्वर वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार