Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • योगेन्द्र बस्नेत मृत्यु प्रकरण : मेडिसिटी अस्पतालमाथि मेडिकल काउन्सिलको छानविन

    योगेन्द्र बस्नेत मृत्यु प्रकरण : मेडिसिटी अस्पतालमाथि मेडिकल काउन्सिलको छानविन

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 5.1K
    SHARES

    काठमाडौं । अस्पतालको लापरवाहीका कारण एक विरामीले अनाहकमा ज्यान गुमाउनु परेको विषयलाई लिएर नेपाल मेडिकल काउन्सिलले ललितपुरको भैंसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालमाथि छानविन गरिरहेको छ । मृतक योगेन्द्र बस्नेतका छोरा समिर बहादुर बस्नेतले अस्पतालमाथि छानविनको माग गर्दै असार २८ गते काउन्सिलमा उजुरी दर्ता गराएका थिए । उजुरी दर्ता भएपनि काउन्सिलले छानविनका लागि तदारुकता नदेखाएकोप्रति अनलाइन नेपालले यस अघि नै समाचार प्रकाशित गरेको थियो ।

    ढिला गरी छानविन प्रकृया अगाडी बढाएको काउन्सिलले अहिले भने अस्पतालाई पत्र काटेर आवश्यक सबै कागजपत्र मगाइसकेको छ । समिर बहादुर बस्नेतको उजुरी र अस्पतालबाट उपलब्ध कागजपत्रमाथि छानविन भइरहेको काउन्सिलले जनाएको छ । काउन्सिलकी सुनिता सापकोटाले अस्पतालमाथि छानविन भइरहेको बताइन् । उनले अनलाईन नेपालसँग कुरा गर्दै भनिन्–‘समिर बहादुर बस्नेतले दिएको उजुरी र त्यसमा लगाइएको आरोपको बारेमा सत्यतथ्य पत्ता लगाउन अस्पतालबाट आवश्यक डकुमेन्ट मगाएर छानविन शुरु भइसकेको छ । काउन्सिलको छानविनमा केही अप्ठेरो परेको खण्डमा विज्ञहरुसँग पनि राय मागेर छानविन गर्छौं ।’



    मृतक योगेन्द्रका छोरा समिरले सामान्य विरामी रहेका आफ्ना बाबुको अस्पतालको लापरवाहीका कारण ज्यान गएको भन्दै उजुरी दर्ता गराएका थिए । नेपाली सेनाका सेनानी समेत रहेका उनले अस्पतालले बिरामीको उपचारमा लापरवाही गर्ने चिकित्सकमाथि कारबाही गरी कानूनी दायरामा ल्याउनु पर्ने माग गरेका छन् । अस्पतालले लापरवाही भएको स्वीकार गरे पनि उपचारमा हेलचेक्र्याई गर्ने चिकित्सकहरुलाई निलम्बन मात्रै गरेर गल्ती ढाकछोप गर्न खोजिरहेको छ ।



    सामान्य स्वास्थ्य जाँच गर्न मेडिसिटी अस्पताल पुगेका योगेन्द बस्नेतको चिकित्सकले पित्त थैलीको अपरेशन गर्नुपर्ने बताएपछि २२ गते ल्याप्रोस्कोपी विधिद्वारा शल्यक्रिया गरिएको थियो । तर, उपचारकै क्रममा अस्पतालको लापरवाही र गैरजिम्मेवारपनले उनको २५ गते निधन भयो । विरामी डाक्टरको निगरानीमा हुनेपर्नेमा डाक्टर नै नगएका कारण बस्नेतको निधन भएको पीडित परिवारको दावी छ ।

    योगेन्द्रका छोरा समिरबहादुर बस्नेतका अनुसार स्वास्थ्य जाँचको क्रममा डा. सुनिल शर्माले पित्त थैलीको शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका थिए । लगत्तै शर्माको सल्लाह अनुसार नै शल्यक्रिया गरियो । अपरेशन नर्मल भएको र सकिएपछि सामान्य शैयामा सारिएको थियो । तर, २४ गते बेलुका बिरामीले अपरेशन गरेको भागमा दुखेको भन्दै नर्सलाई खबर गरेका थिए । नर्सले जाँच गर्दा रक्तचाप सामान्य देखिएको बताएका थिए । रक्तचाप सामान्य देखिएपछि ट्वाइलेट गएका विरामी योगेन्द्र त्यही ढलेका थिए । ढलेपछि पिता योगेन्द्रको मुख बांगिएको छोरा समिरले बताए ।

    बिरामी ढलेपछि आएको चिकित्सकको टोली स्वास्थ्य जाँच गर्दा सामान्य अवस्था भएको भन्दै बाहिरिएको थियो । पीडित परिवारका अनुसार बेलुका ८ बजे वेड सार्न खोज्दा फेरि बिरामी ढलेका थिए । सोही रातको ३ बजे बिरामी अचेत भएको र मेडिकल अफिसर आएर कृत्रिम श्वास दिएर आइसीयूमा लगिएको थियो । आइसीयूमा लैजानु पर्ने अवस्था आएपछि मात्रै अस्पतालाका चिकित्सकले भिडियो एक्सरे गरी अप्रेसन गरेकै ठाउँमा आन्तरिक रक्तश्राव भएको भन्दै पुनः अपरेशन गर्नुपर्ने बताएका थिए ।

    यसरी अपरेशनपछि पनि रक्तश्राव नरोकिएको र ‘मल्टि अर्गान फेल’ भएकाले बिरामीलाई भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमै राखिएको अवस्थामा बिरामीको जेठ २५ गते मृत्यु भएको थियो । मृत्यु हुनुको मुख्य कारण चिकित्सकको गम्भीर लापरबाही भएको भन्दै पीडित पक्षले सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न अस्पतालमा निवेदन दियो ।

    पीडित परिवारले अस्पताल प्रशासन समक्ष ६ असारमा छानबिन गरिपाउँ भन्दै निवेदन दिएको थियो । अस्पतालले पीडितको माग अनुसार डा. जयन्द्र बज्राचार्यको नेतृत्वमा छानबिन समिति बनायो । उपचारमा नजाने चिकित्सक राजीव मिश्रसहित अन्य दुई जनालाई निलम्बन गरेको छ । तर, अन्य दुई जनाको नाम भने अझै सार्वजनिक गरिएको छैन । अझै पनि अस्पताल प्रशासनले उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारबाही गरी कानूनी दायरामा ल्याउनुपर्नेमा निलम्बन गरेर बचाउन खोजिरहेको छ ।

    अस्पतालले पीडितलाई दिएको जानकारी पत्रमा पनि कमजोरी स्वीकार गरेको भेटिएको छ । मृतक योगेन्द्रका छोरा समिर बस्नेतलाई अस्पतालले दिएको जानकारी पत्रले कमजोरी मात्रै स्वीकार गरेको छैन, चिकित्सकले बिरामी नै हेर्दैनन् भन्ने स्पष्ट खुलाएको छ । उपचारमा संलग्न मुख्य चिकित्सक डा. सुनिल शर्माका अनुसार जेठ २४ गते राती १० बजे डा. राजिव मिश्रले बिरामीको स्वास्थ्य अवस्था ठिक भएको भन्दै आफूलाई जानकारी गराएको बताएका छन् । तर, सेकेन्ड कल डाक्टर मिश्रलाई अस्पतालमा गएर जाँच गर्नुभन्दा नगइकन उनले सिनियर चिकित्सकलाई बिरामीको स्वास्थ्य अवस्था ठिक भएको भन्दै गलत रिपोटिङ गरेका थिए ।

    पीडितको दबाबपछि अस्पतालले मिश्रलाई सोध्दा हात काटेकाले डिउटीमा नगएको गैर जिम्मेवार जवाफ दिएका थिए । यसरी विरामीलाई निगरानीमा राखेर हेर्नुपर्ने चिकित्सकले नै अस्पताल नै नगई सिनियरलाई गलत रिपोटिङ गरेका कारण अनाहकमा सामान्य अवस्थामा रहेका विरामी योगेन्द्रले ज्यान गुमाउनु परेको छ ।

    अस्पतालले पनि गल्ती स्वीकार गरिसकेको अवस्थामा नेपाल मेडिकल काउन्सिलको छानविनले कस्तो निष्कर्ष निकाल्छ त्यो भने पर्खाइको विषय बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार