Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • २९ लाखको अबैध लागूऔषधसहित १५ जना कारोबारी पक्राउ, हुलाकमार्फत अमेरिकाबाट आएको थियो गाँजा

    २९ लाखको अबैध लागूऔषधसहित १५ जना कारोबारी पक्राउ, हुलाकमार्फत अमेरिकाबाट आएको थियो गाँजा

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 966
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले अवैध लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकामा खैरो हेरोइन र नियन्त्रित लागू औषध एम्पुलको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले विभिन्न मिति र स्थानबाट १५ जनलाई पक्राउ गरेको हो ।

    ब्यूरोको टोलीले नियन्त्रित लागूऔषध २५२ एम्पुलसहित चार जनालाई पक्राउ गरेको हो भने २८७.५ ग्राम खैरो हेरोइनसहित आठ जना र २ गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।



    खैरो हेरोइनसहिहत पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–१८ भैसेपाटी बस्ने ३३ वर्षीय प्रताप कार्की, उनलाई हेरोइन विक्री गर्ने फिदिम नगरपालिका–१ पाँचथरका २४ वर्षीय भुवन विक र सोही स्थानका देङ्ग हाङ्ग नेम्वाङ रहेका छन् । कार्कीलाई भदौ १७ गते ७.५ ग्राम हेरोइनसहित भैसेपाटीबाट पक्राउ गरिएको तथा विक र नेम्वाङलाई काठमाडौंको अनामनगरबाट ३३ ग्राम हेरोइनसहित पक्राउ गरिएको ब्यूरो प्रमुख एसएसपी विकासराज खनालले बताए । विक ११९।५ ग्राम खैरो हेरोइन मुद्दाका फरार प्रतिवादी रहेको पनि खुलेको छ ।



    त्यसैगरी, भदौ १७ गते नै गोकर्णेश्वर नगरपालिका–९ माकलबारीबाट काठमाडौं महानगरपालिका–६ ठेगाना भएका २५ वर्षीय उत्सव घिमिरे र ट्याम्केमैयुङ गाउँपालिका–९ भोजपुर घर भएका ४१ वर्षीय दोर्ची शेर्पालाई ७ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।

    उनीहरुसँग खैरो हेरोइन कारोबारमा संलग्न पौवाढुंगा गाउँपालिका–१ भोजपुरकी ३२ वर्षीय फूर्लामी शेर्पालाई भने ब्यूरोको टोलीले १८ गते काठमाडौंको सुकेधारबाट २४० ग्राम हेरोइनसहित पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले डिजिटल तराजु समेत बरामद गरेको जनाएको छ ।

    त्यस्तै दोर्ची र फूर्लामीको साथबाट बरामद भएको खैरो हेरोइन उनीहरुलाई बिक्री गर्ने मेचीनगर नगरपालिका–१५ झापा स्थायी ठेगाना भएकी ३० वर्षीय अप्सरा खातुन भन्ने अप्सरा राजवंशी र उनको कारोबारमा सहयोग गर्ने सोही ठेगाना भएका ४४ वर्षीय नौसाद अलामलाई भदौ १९ गते मेचीनगर–१५ झापाबाट पक्राउ गरिएको एसएसपी खनालले बताए । उनीहरुको साथबाट प्रहरीले डिजिटल तराजु र १० लाख ४० हजार नगद बरामद गरेको छ ।

    त्यस्तै, अमेरिकाबाट आएको पार्सलभित्र लुगाइएको गाँजा लैजाने क्रममा मण्डनदेउपुर नगरपालिका–७ काभ्रेका २८ वर्षीय मनोज राई, उक्त गाँजा लुकाइएको पार्सल राईलाई मिलाइदिने काठमाडौं महानगरपालिका–१ नक्सालका ३० वर्षीय अंकीत कुमार श्रेष्ठ र ३० हजार रुपैयाँ दिने शर्तमा राईलाई पार्सल रिसिभ गर्न पठाउने काठमाडौं महानगरपालिका–१७ खुसीबुका राहुल क्षेत्रीलाई ब्यूरोको टोलीले भदौ २० गते नक्सालबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले तीन केजी गाँजा बरामद गरेको छ ।

    त्यसैगरी २५२ एम्पुलसहित पक्राउ पर्नेहरुमा ललितपर महानगरपालिका–८ च्यासलका ३२ वर्षीय संजय कपाली र मन्थली नगरपालिका–१३ फुलासी रामेछाप ठेगाना भएका २७ वर्षीय कुमार तामाङ रहेका छन् । ललितपुर–९ भोलाखेलबाट पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले बुप्रेनोर्फिन ३१ एम्पुल, डाइजोपाम ३१ एम्पुल र फेनारगन ३० एम्पुल बरामद गरेको छ ।

    त्यस्तै, एम्पुल कारोबारमा संलग्न ललितपुर महानगरपालिका–१७ का २९ वर्षीय अनिस महर्जनलाई पनि ब्यूरोको टोलीले भदौ १६ गते नै पक्राउ गरेको जनाएको छ । प्रहरीले उनको कोठाबाट २२ हजार एक सय नगद सहिहत बुप्रेनोर्फिन ५६ एम्पुल, डाइजोपाम २५ एम्पुल र फेनारगन ७९ एम्पुल बरामद गरेको छ । महर्जनको साथबाट प्रहरीले विभिन्न व्यक्तिहरुले लागूऔषध एम्पुलहरु खरिद गर्नका लागि धरौटी राखेको विभिन्न कम्पनीको १७ थान मोवाइल, ७ थान घडी र ४ थान गितार बरामद गरेको छ ।

    ब्यूरोको टोलीले महर्जनलाई लागूऔषध एम्पुलहरु विक्री गर्ने डाक्नेश्वरी नगरपालिका–७ सप्तरी घर भएका २७ वर्षीय धरमदेव यादवलाई १९ गते ललितपुरको महालक्ष्मीस्थानबाट पक्राउ गरेको छ ।

    ब्यूरो प्रमुख एसएसपी विकासराज खनालका अनुसार खैरो हेरोइनको अन्दाजी मूल्य २८ लाख ७५ हजार, एम्पुलको मूल्य ५० हजार चार सय र गाँजाको मूल्य ७४ हजार गरी २९ लाख ९९ हजार चार सय मूल्य बराबरको अबैध लागूऔषध बरामद भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार