Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • महेश बस्नेतको आडमा ट्रायल सेन्टरबाट गैरकानुनी धन्दा चलाउँदै आएका प्रसाई चेक बाउन्समा पक्राउ

    महेश बस्नेतको आडमा ट्रायल सेन्टरबाट गैरकानुनी धन्दा चलाउँदै आएका प्रसाई चेक बाउन्समा पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 1.8K
    SHARES

    भक्तपुर । नेकपा एमालेका युवा नेता एवं पूर्व मन्त्री महेश बस्नेत निकट इजी वे ट्रायल सेन्टरका संचालक जोन भनिने निर्भयबाबु प्रसाई पक्राउ प्रकरणले नयाँ मोड लिएको छ । नयाँ ट्रायल सेन्टर खरिद बिक्री गरेबापत भएको कारोबारमा चेक बाउन्सको मुद्दामा पक्राउ परेका उनी अहिले आफू पक्राउ परेको समाचार नै झुटो भएको बताउन थालेका छन् । भक्तपुर प्रहरीले पक्राउ गरेको पुष्टि गरिसक्दा पनि प्रसाइले भने आफू बिरामी रहेको भन्दै अस्पतालमा बसेर पक्राउ नपरेको भन्दै भ्रममा पारिरहेका छन् ।

    ४० लाख चेक बाउन्स गरेको उजुरी परेपछि प्रहरी परिसर भक्तपुरको विशेष टोलीले प्रसाईलाई भदौ २० गते भक्तपुरबाटै पक्राउ गरेको थियो । प्रसाईले भ्याली ड्राइभिङ सेन्टर खरिदका क्रममा बुझाउन पर्ने रकम ४० लाख रुपैयाँको चेक बाउन्स भएपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ ।



    भक्तपुरमा ट्रायल सेन्टरका नाममा विभिन्न गैरकानुनी धन्दा गर्दै आएका उनले आफूलाई भक्तपुरकै शक्तिशाली व्यवसायी भन्दै दम्भ देखाउने गरेको बताइन्छ । महेश बस्नेत आफ्नो मान्छे भएको बताउने उनले राजनितिक दलका नेतासँगको सम्बन्धको लाभ लिदै भक्तपुरमा धाक, धम्की र हुकुमी शासन देखाउने गरेको पीडितहरुको आरोप छ ।



    चाप्लुसी र चाकडिको बलमा आर्थिक प्रलोभनमा पारि कर्मचारीतन्त्रबाट समेत फाईदालिई सरकारी मापदण्ड बिपरित राजकुलो समेत मिचेर बनाइएको भौतिक संरचनामा उनले ड्राइभिङ सेन्टर संचालन गर्दै आएका छन् । उनले सञ्चालन गरिरहेको इजी वे ट्रायल सेन्टरले मापदण्डविपरित राजकुलो मिचेर ट्रायल स्थल सञ्चालन गरिरहेको समेत भक्तपुर राधे–राधेका एक स्थानीय बताउँछन् ।

    इजी वे मा लाइसेन्सको अवैध धन्दा
    प्रसाईमाथि विदेशमा बस्ने नेपालीहरुसँग दुईलाखसम्म लिएर लाईसेन्स बनाउने देखि मिटरब्याजमा सर्वसाधरणलाई ठग्ने गरेको समेत आरोप लाग्दै आएको छ । प्रसाइले विदेशमा बसेका नेपालीहरुलाई लाईसेन्स चाहिएको अवस्थामा यहिँबाट लाईसेन्स समेत बनाइदिने काम लामोसमयदेखि गर्दै आएका छन् ।

    जोन मिटरब्याजीसमेत हुन् । उनले आम सर्वसाधरणलाई चर्को ब्याजमा पैसा लगाउने धन्दा गर्दै आइरहेका छन् । त्यसोत लाइसेन्स सेन्टरको नाउँमा जोनको कालोधन्दाको फेहरिस्त लामै छ । नेपाल सरकारबाट स्वीकृति प्राप्त गरि चलिरहेको इजी वे ट्रायल सेन्टरबाट सवारी चालक अनुमति पत्रको लागि नक्कली परीक्षार्थी प्रयोग हुने घटना पटक–पटक भेटिने गरेका छन् । यी सबै धन्दामा यिनै जोनको हात रहने गरेको निकट स्रोतले बताउँछ ।

    केहीसमयअघि दुई पांग्रे सवारी साधनको प्रयोगात्मक परीक्षा (ट्रायल) मा नक्कली परीक्षार्थी बनेर अर्काको नाममा परीक्षा दिने ईन्द्रावती गाउँपालिका–१० घर भएका २१ वर्षीय सुजन भट्टराई इजी वेबाटै पक्राउ परेका थिए । ललितपुरको महालक्ष्मी नगरपालिका–६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिने भट्टराईलाई त्यतीखेर पक्राउ गरिएको थियो ।

    उक्त ट्रायल सेन्टरबाट गत असारमा समेत कालीकोट गेला–४ का सरोज ढकालको सवारी चालक अनुमतिपत्रको ट्रायल दिन आएका कालीकोटकै गेला–६ बस्ने २८ वर्षीय दीपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको थियो । इजी–वे ट्रायल सेन्टरबाट २०७६ पुष १७ गते दोलखा घर भई हाल लोकन्थली बस्ने १९ वर्षे सौरभ रिमाल आफ्नो दाजुको सट्टामा मोटरसाइकलको ट्रायल दिइरहेको अवस्थामा पक्राउ परेका थिए ।

    त्यस्तै २०७६ फागुन ५ गते इजी वे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भन्दै हिँड्ने सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई काठमाडौँको शंखमुलमा बस्ने ५० वर्षीय केशवबहादुर श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

    यस सेन्टरमा नक्कली परीक्षार्थी प्रयोग हुने गरेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा एकैदिन २ जना नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरेको थियो। पक्राउ पर्ने नक्कली परीक्षार्थीहरुमा सिन्धुली पोखरी–५ स्थायी घर भएका २० बर्षिय टिकाराम चौलागाईको मोटरसाईकलको ट्रायल परीक्षा दिँदै गरेको अवस्थामा जिल्ला तेह्रथुम ईवा–१ घर भई हाल जिल्ला ललितपुर लामाटार बस्ने बर्ष ३० को धन कुमार ईङमान (लिम्बु) र भक्तपुर नगरपालिका–१० बस्ने बर्ष २० को सनिस श्रेष्ठको नाममा मोटरसाईकलको ट्रायल परीक्षा दिदै गरेको जिल्ला मोरङ लेटाङ गाउपालिका–८ घर भई हाल ललितपुर लुभु बस्ने बर्ष ३१ को अर्जुन राई रहेका थिए ।

    यी केही उदाहरण हुन्, इजी वे ड्राइभिङ सेन्टरबाट धेरै पटक नक्कली परीक्षार्थी पक्राउ पर्दा पनि यातायात कार्यालय जगातीले त्यो ट्रायल सेन्टरबाट मात्र परीक्षा गराउँदैआएको छ । प्रसाइकै आदेशमा त्यहाँ कार्यरत कर्मचारीहले नक्कली परीक्षार्थी खडा गर्दै आएको यस अघि नै खुलीसेकेको छ । प्रहरीले ट्रायल सेन्टरको नाममा लाइसेन्स सम्बन्धी अवैध काम गर्दै आइरहेको विषयमा पनि अनुसन्धान सुरु गर्ने भएको छ ।

    त्यसो त प्रसाईले सेवाग्राहीसँग दोहोरो शुल्क समेत उठाउँदै आएका छन् । यस बारेमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिनका लागि प्रदेश ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयलाई लिखित निर्देशन दिएको थियो । प्रदेश मन्त्रालयको स्वीकृति र सहमित बिना नै यातायात कार्यालय जगातीले ट्रायल सेन्टरलाई सःशुल्क बनाएको थियो । तर महेश बस्नेतको संरक्षण प्राप्त भएकाले अख्तियारको निर्देशन अनुसार इजी वेमाथि कुनै छानबिन भएन ।

    यातायात व्यवस्था कार्यालय जगातीका तत्कालीन प्रमुख किरणराज ढकालले ट्रायल सेन्टरका सञ्चालक निर्भयबाबु प्रसाईसँगको साँठगाँठमा सेवाग्राहीसँग शुल्क उठाउनेगरी अनुमति दिएको खुलासा यसअघि नै भैसकेको छ। काठमाडौंको थापागाउँको अपार्टमेन्टमा बस्दै आएका प्रसाईमाथि प्रहरीे शुक्ष्म अनुसन्धान शुरु गरेको जनाएको छ ।

    भक्तपुरको राधेराधेमा रहेको इजी वे ट्रायल सेन्टर भक्तपुरको जगाती यातायात कार्यालयको एकमात्र ट्रायल गर्ने ड्राइभिङ सेन्टर हो । एमाले नेता महेश बस्नेतकै संरक्षण प्रसाईलाई भएकाले अरु ट्रायल सेन्टर थप गर्न दिएका छैनन् । जबकी परीक्षार्थीको चाप दिन दिनै बढिरहेकै छ ।

    प्रसाईले ट्रायलमा फेल हुनेहरूलाई यातायातका हाकिमसँग सेटिङ गरी गाडीको २५ हजार र मोटरसाइकलको १० हजार घुस लिएर लाइसेन्स निकालिदिने काम समेत गर्ने गरेको आरोप छ ।

    मिटरब्याजमा पनि अनुसन्धान
    प्रसाईमाथि मिटरब्याजको कारोबार गरेको आरोप समेत लागेको छ । स्रोतका अनुसार महेश बस्नेतको आडमा उनले एक लाखको दैनिक १ हजार रुपैयाँमा मिटरब्याजको कारोबार समेत गर्दै आएका छन् । ड्राइभिङ सेन्टरको नाममा जोनले मिटरब्याजदेखि विभिन्न गैरकानुनी धन्दा गर्दैआएको खुलेको छ ।

    प्रसाई र महेश बस्नेतको कनेक्सन
    प्रसाईका तीन वटा नाम छन् । उनी आफूलाई ठाउँअनुसार परिचय गराउँछन् । कहीँ अभयबाबु भन्छन् त कहीँ निर्भयबाबु भन्छन् । उनी जोनका रुपमा पनि आफूलाई कतिपय ठाउँमा प्रस्तुत गर्दछन् । विगतमा अनुज घिमिरे, किरण ढकाल जगाती यातायातको प्रमुख हुँदा पनि यिनै निर्भयबाबु प्रसाईंको इजिवेलाई नै ट्रायलको एकाधिकार दिइएको थियो । नेपाली कांग्रेसका घोषित कार्यकर्ता बताउने अनुज घिमिरे महेश बस्नेतका अतिनिकट थिए । महेश बस्नेतकै आशीर्वादमा उनले जगाती यातायातको ट्रायल सेन्टरको जिम्मा इजी वेलाई दिएका थिए ।

    यातायात कार्यालय जगाति हाकिमदेखि तलका कर्मचारीसम्म सबैलाई प्रसाईंले महेश बस्नेतको आडमा आफ्नो कारिन्दाजस्तै बनाएका छन् । इजिवे ट्रायल सेन्टरमा जगाति यातायातले ट्रायल गराउने भएकाले गाडी र मोटरसाइकल सिक्नेहरूको पनि त्यहीँ लाइन लाग्ने गरेको छ । फेल भएपनि लाइसेन्स दिलाउन सक्ने प्रचार भएपछि प्रसाईंको बाहेक अरु ट्रायल सेन्टरमा कोही पनि सिक्न जाँदैनन् । इजीवेमा भने ड्राइभिङ सिक्नेहरूको भीड लाग्ने गरेको छ ।

    यसरी यातायात कार्यालयसँग सेटिङ गरी ट्रायल सेन्टरमा सिकारुहरूको लाइन लगाएर मासिक १० औं लाखको कारोबार प्रसाईंले गर्दै आएका छन् । महेश बस्नेतको कृपाप्राप्त भएकाले इजी वेलाई यातायातका हाकिमहरुले समेत साथ दिने गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार