Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सीमामा हुने अवैध गतिविधि रोक्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

    सीमामा हुने अवैध गतिविधि रोक्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 606
    SHARES

    काठमाडौं । सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि रोक्नको लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ ।

    बिहीबार प्रहरी मुख्यालय हलचोकमा जुत्ताचप्पल उत्पादक, बोट्लर्स नेपाल, नेपाल चिनी उद्योग संघ, नेपाल पोल्ट्री महासंघ, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उत्पादक संघ लगायतका प्रतिनिधिसँग छलफल गरेको हो ।



    सीमा ईलाकाबाट त्यस प्रकारका सामान तथा वस्तुको चोरीतस्करी नियन्त्रण कसरी गर्न सकिन्छ, भन्ने विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ ।



    कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै सरोकारवाला निकायसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताउँदै चोरीपैठारी नियन्त्रणमा संगठन प्रतिवद्ध भएको उल्लेख गरेका छन् । छलफलका लागि मात्र छलफल नगरी समस्या पहिचानकासाथ समाधानको निष्कर्षमा पुग्ने संगठनको प्रयास रहेको उल्लेख गर्दै महानिरीक्षक अर्यालले एक निकायको एकल प्रयासले मात्र नियन्त्रण प्रभावकारी नहुने भएकोले सबैको सहकार्य र सहयोगमा मात्र परिणाम प्राप्त हुने बताए ।

    उनले यस प्रकारका अवैध कार्य रोक्न सीमा ईलाकामा सबै पक्ष समेटेर कमिटी नै बनाई अघि बढ्ने उल्लेख गर्दै सशस्त्र प्रहरी बलले आफ्नो कार्यक्षेत्रमा कुनैपनि किसिमका अवैध गतिविधि गर्न नदिने नीति लिएको र त्यसलाई कडाईकासाथ पालना गराउन सीमा क्षेत्रका युनिटहरुलाई निर्देशन समेत दिएको बताए ।

    कार्यक्रममा उल्लेखित संघ संस्थाका प्रतिनिधिहरुले तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले उल्लेख्य कार्य गरिरहेको भएपनि देशका केही मुख्य नाकाबाट अवैध वस्तु भित्रन सक्ने भएकोले त्यस प्रकारका कार्यले राजश्वमा प्रत्यक्ष असर पर्ने र उद्योगधन्दा धरासायी हुने वा बन्द गर्ने अवस्था आउन सक्ने बताएका थिए ।

    चोरीतस्करी रोक्नको लागि सरोकारवाला अन्य निकायसँगको समन्वय र नाकाबाट नै नियन्त्रण गर्ने कार्य प्रभावकारी हुनेमा छलफलमा उपस्थित उद्योग व्यवसायीसँग सम्बन्धित प्रतिनिधिहरुले जोड दिए । कार्यक्रममा मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगरले सीमा नजिक पोल्ट्री फर्म र माछा पोखरी भएकोले अवैध रुपमा आएका त्यस प्रकारका वस्तुको नियन्त्रण प्रभावकारी हुन नसकेको व्यवहारिक कठिनाई औंल्याउँदै त्यसको उचित व्यवस्थापनको लागि सीमाबाट निश्चित दुरी तोक्नु पर्नेमा जोड दिए ।

    यसैगरी प्रदेश नम्बर १ स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी र लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्काले अवैध आयात हुनसक्ने नाकामा विशेष निगरानी राख्ने र त्यसका लागि व्यवसायीसँग पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार