Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सीमामा तनावका कारण भारत–चीन व्यापार घाटा १०० अर्ब डलर नाघ्यो

    सीमामा तनावका कारण भारत–चीन व्यापार घाटा १०० अर्ब डलर नाघ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 624
    SHARES

    एजेन्सी। सीमामा तनावका बीच चीनबाट आयात घटाउन दबाब आए पनि भारत र चीनबीचको व्यापार घाटा लगातार कीर्तिमानी उचाइमा पुगेको छ ।

    पछिल्लो तथ्याङ्कअनुसार गत वर्ष दुई देशबीचको व्यापार ८.४ प्रतिशतले बढेर १३५.९८ अर्ब डलर पुगेको छ र योसँगै भारतको व्यापार घाटा पनि १०० अर्ब डलरको नयाँ स्तरमा पुगेको छ ।



    जहाँ गत वर्ष अर्थात् २०२१ मा दुई देशबीचको व्यापार १२५.६२ अर्ब डलर थियो ।



    यो तथ्यांक चीनको भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको हो । यी तथ्याङ्कअनुसार गत वर्ष भारततर्फ चिनियाँ सामानको निर्यात २१.७ प्रतिशतले बढेर ११८.५ अर्ब डलर पुगेको छ ।

    सन् २०२२ मा भारतको चीनतर्फको निर्यातमा ३७.९ प्रतिशतले ठूलो गिरावट आएको छ र १७ अर्ब ४८ करोड डलर पुगेको छ अर्थात् चीन र भारतबीचको व्यापार असन्तुलन चीनको पक्षमा १०० अर्ब डलरभन्दा बढी छ ।

    पछिल्लो दुई वर्षयता चीन र भारतबीचको सीमामा तनाव बढेको छ । पटक पटक हिंसात्मक झडप समेत भएको छ ।

    तर अर्कोतर्फ व्यापारको क्षेत्रमा भारतको चीनमाथिको निर्भरता पनि निरन्तर बढ्दै गएको छ ।

    गत महिना ९ डिसेम्बरमा सिक्किमको तवाङ सेक्टरको याङ्त्सेमा भारत र चीनका सैनिकबीच हिंसात्मक झडप भएको थियो ।

    यस झडपमा केही भारतीय सैनिक पनि घाइते भएका छन् । यसअघि गलवान उपत्यकामा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

    पछिल्ला केही वर्षयता दुई देशबीच एकपछि अर्को तनावका घटनाहरु बाहिर आइरहेका छन् ।

    गलवानअघि डोकलाममा करिब साढे दुई महिनासम्म दुवै देशका सेना आमनेसामने भएका थिए । तर, यसबीचमा पनि दुई देशका सेनाबीच सीमा झण्डा भेट्ने क्रम जारी छ ।

    सन् २०२० मा पूर्वी लद्दाखमा भारत र चीनबीच गम्भीर अवस्था सिर्जना भएको थियो । अप्रिल २०२० मा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा सुरु भएको सैन्य गतिरोध पछि  भारतले स्पष्ट रूपमा चीनलाई ‘सीमामा तनावबाट बाँकी सम्बन्ध सामान्य हुन नसक्ने’ भनेको थियो।

    त्यसपछि मोदी सरकारले धेरै प्रतिबन्ध लगाएपछि चीनबाट लगानीमा कमी आएको थियो । भारतले चिनियाँ कम्पनीहरूलाई फाइभजी ट्रायलबाट वञ्चित गरेको छ र २०० भन्दा बढी एपमा पनि प्रतिबन्ध लगाएको छ।

    अर्कोतर्फ भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको तथ्याङ्क हेर्दा गलवानपछि पनि चीनबाट आयात बढ्दै गएको थाहा हुन्छ । – बिबिसी हिन्दी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार