Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मन्त्री पदबहालीमै रुमलिँदा उद्योगका महानिर्देशक तिवारीको कमाउ धन्दा, डिजी बन्न सहसचिवहरुको दौडधूप

    मन्त्री पदबहालीमै रुमलिँदा उद्योगका महानिर्देशक तिवारीको कमाउ धन्दा, डिजी बन्न सहसचिवहरुको दौडधूप

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व दामोदर भण्डारीले पाएका छन् । विना विभागीय मन्त्रीका रुपमा करिब २० दिन सिंहदरबार घुमेका मन्त्री भण्डारीलाई मंगलबार सो मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

    भण्डारीले मन्त्रालयमा पद बहाली गरेकै दिन उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले भने दर्जनौं क्रसर उद्योगको प्रारम्भिक वातावरणीय परीक्षणसम्बन्धी कार्य (आईईई) स्वीकृतिका लागि बैठक बोलाउन निर्देशन दिएका छन् ।



    बिहीबार दिउँसो बोलाइएको बैठकमा वातावरण मन्त्रालयलगायतका प्रतिनिधिहरुलाई पनि पत्राचार गरिएको छ । शाखा प्रमुख शंकर धामीको अध्यक्षतामा बस्ने बैठकमा विवादास्पद क्रसर उद्योगहरुको आइईई स्वीकृत गर्ने र सोको अन्तिम निर्णयका लागि महानिर्देशकसमक्ष पेश गर्ने तयारी भइरहेको स्राेतको दाबी छ ।



    अहिले गृहमन्त्रालयले देशैभरका अवैध क्रसर उद्योगहरुलाई बन्द गर्न थालेपछि क्रसर उद्योगीहरु वैधानिक बाटोको खोजीमा लागेका छन् । यही मौकाको फाइदा उठाउँदै महानिर्देशक तिवारीलाई शाखा प्रमुख धामीले प्रभावमा पारेर मन्त्री पदबहालीमै रुमलिएका बेला मौका यही हो भन्दै बैठक बोलाएका हुन् । सामान्यतया आइईई बैठकका लागि एक साताको अग्रिम सूचना दिने चलन छ ।

    तर, तीन दिनको बीचमै बैठक राखेर धामीले अवैध क्रसर उद्योगहरुलाई वैद्यता दिन मात्रै खोजेका छैनन्, आर्थिक लाभ जोडिएका अन्य प्रस्तावहरु पनि बैठकमा पेश गर्ने तयारी भएको छ । बैठकको कार्यसूचिनै तोकेर पत्राचार गर्ने चलन भए पनि यस पटकको बैठकमा पत्रमात्रै पठाइएको तर कार्यसूचि समावेश नगरिएको हुँदा अन्य एजेन्डाहरु पनि थप हुनसक्ने अनुमान गरिएको छ । धामीलाई मेकानिकल इञ्जिनियर मनिष कर्णले पनि साथ दिएका छन् ।

    दोहोरो शाखा हेर्दै आएका कर्ण विवादास्पद छविका कर्मचारी हुन् । कर्ण र धामीको प्रभावमा महानिर्देशक तिवारी परेको बताइन्छ । महानिर्देशक तिवारी प्रधानमन्त्रीमा पुष्पकमल दाहाल नियुक्त हुने बित्तिकै छटपटाउन थालेका छन् । काँग्रेस निकट मानिने तिवारी त्यसपछि अब आफ्नो धेरै दिन बाँकी नरहेको हुँदा रकमी बाहेकका काममा आफूलाई नअल्झाउन शाखा प्रमुख र कर्मचारीहरुलाई अघोषित निर्देशन दिएका कारण उद्योग विभागमा सिस्टममा हुने काम रोकिएका छन् ।

    उद्योगमन्त्रीमा अब्दुल खानको चर्चा भएसँगै उनलाई भेट्न सम्पर्क सूत्रमार्फत् पुगिसकेका तिवारीले आफूलाई थमौतीका लागि आग्रह गरेको समेत स्रोतको दाबी छ । सोही कारण उनले विभागमा आफ्नो निरन्तरता अझै रहेको बताउने गरेका थिए ।

    तर, अकस्मात मन्त्रालय एमालेको भागमा पुगेपछि अत्तालिएका तिवारीले मन्त्री भण्डारी रिझाउन अनेक सूत्र खोजिरहेको बताइन्छ । उनी अहिले विभागमै टिक्ने उपायको खोजीमा छन् । यो सँगै उनी आकर्षक मानिने राजश्व अनुसन्धान विभागको महानिर्देशक बन्ने चलखेलमा समेत लागेका छन् ।

    विभागमा भने एमाले मन्त्रीभएपछि एमाले निकट मानिने सहसचिवहरुको दौडधूप शुरु भएको छ । मन्त्रालयमै कार्यरत रहेका लिला शर्मा, चन्द्रकला पौडेल, नारायण रेग्मी लगायतले विभागको नेतृत्व लिन पहल गरिहेको बताइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार