Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्वास्थ्यमा आरजुको रुची, बस्नेतलाई मन्त्री बनाउन जग्गा बेचेर फन्ड जम्मा गर्दै मसिना

    स्वास्थ्यमा आरजुको रुची, बस्नेतलाई मन्त्री बनाउन जग्गा बेचेर फन्ड जम्मा गर्दै मसिना

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला र गगन थापा समूहले ३ मन्त्री माग गरेपछि मन्त्रीपरिषदले पूर्णता पाउन सकेको छैन । संस्थापन पक्षले कोइराला–थापा पक्षलाई २ मात्र मन्त्री दिने भन्दै आएको छ ।

    ३ वटा मन्त्री नपाए संस्थापन इतर पक्ष सरकारमा सहभागी नै नहुने अडानमा छ । संस्थापन पक्षभित्रै मन्त्रीका लागि ठूलो मारामार छ । संस्थापन पक्षबाट पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङ मन्त्री नियुक्त भइसकेका छन् । एनपी साउद आइतबारै परराष्ट्र मन्त्री नियुक्त भइसकेका छन् ।



    कांग्रेसका कारण मन्त्रिपरिषदले तेस्रो पटक पनि पूर्णता पाउन सकेन । कांग्रेसले आज पनि साउदलाई मात्र मन्त्री बनाएको छ । बाँकी ३ मन्त्रालयमा मन्त्री पठाउन सकेको छैन ।



    कोइराला–थापाले ३ पद मागिरहेका छन् । खानेपानी मन्त्रालयाबाट सीके राउतको जनमत पार्टी अलग भइसकेकाले त्यो समेत कांग्रेसले दाबी गरेको छ । माओवादीले कोटाबाहेक थप ऊर्जा मन्त्रालय लिएकाले कांग्रेसले खानेपानीमा दाबी गरिरहेको छ ।

    खानेपानी समेत पाएमा संस्थापन पक्षबाट १ मन्त्री हुने संभावना छ । संस्थापन पक्षको कोटाबाट मन्त्री हुने दौडमा मोहनबहादुर बस्नेत, किशोरसिंह राठौर र रामहरि खतिवडाहरु छन् । तर, पार्टीमा गरेको योगदान भन्दा पनि मन्त्री हुनका लागि धुम्बाराहीमा आरजु राणालाई फन्ड बुझाउनेहरु प्राथमिकतामा पर्ने चर्चा कांग्रेस बृत्तमा छ ।

    उपसभापति पूर्णबहादुर खड्कालाई रक्षामा पठाएर कांग्रेसको भागमा परेको महत्वपूर्ण अर्थमन्त्रालयमा आरजुकै कोटामा डा. प्रकाशशरण महत मन्त्री भइसकेका छन् ।

    इलेक्टेडहरु रक्षा, उद्योगमा थन्किने, सेलेक्टेडहरु अर्थ मन्त्रालयमा हालीमुहाली गर्ने मौका पाउनुमा आरजुको पावरको कमाल भएको जानकारी राख्ने कांग्रेसहरु किशोरसिंह राठौर, रामहरि खतिवडाहरु नपर्नुलाई स्वभाविक ठान्दछन् । प्रदीप पौडेलहरुले त संसदीय दलमा देउवालाई मत नदिएकाले मन्त्री हुने कल्पनाभन्दा बाहिरको कुरा हो ।

    मोहनबहादुर बस्नेत यसअघि स्वास्थ्य राज्यमन्त्री र संचार मन्त्री समेत भएकाले एकपटक पनि अवसर नपाएका देउवा पक्षका राठौर र खतिवडाहरुले दाबी गरिरहेका छन् । तर, उनीहरुको दाबीको असर नपर्ने भएको छ ।

    बस्नेतलाई स्वास्थ्य मन्त्री बनाउनका लागि स्वास्थ्य सामग्री ब्यवसायीहरुमार्फत् ठूलै फन्ड राणा निवास धुम्बाराहीमा पुगिसकेको स्रोत बताउँछ । धुम्बाराहीमा फन्ड बुझाइसकेकाले बस्नेत भने मन्त्री त्यो पनि स्वास्थ्य नै बन्ने कुरामा निश्चित नै देखिएका छन् ।

    सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ प्रदेश (क) बाट प्रदेशसभा सदस्य मसिना खड्काले बस्नेतलाई मन्त्री बनाउनका लागि १५ दिनअघि भक्तपुरको मध्यपुर थिमीस्थित लोकन्थलीको १८ आना जग्गा प्रतिआना ३४ लाखका दरले बिक्री गरिसकेको स्रोतको दाबी छ । ६ करोड १२ लाखमा उनले जग्गा बिक्री गरिसकेको सिन्धु कांग्रेसका एक नेताले बताए ।

    ती नेताका अनुसार अहिले लगानी गरेर बस्नेतलाई मन्त्री बनाइसकेपछि स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट स्वास्थ्य सामग्री खरिदको ठेक्का मसिना खड्का भण्डारी र उनका पति अक्कलबहादुर भण्डारी संचालक रहेको विकास सर्जिकल लगायतका कम्पनीलाई दिनेगरी सहमति भइसकेको छ ।

    प्रदेशसभा सदस्य टिकट दिंदा पनि मसिनाबाट सिन्धुपाल्चोक २ को सबै चुनाव खर्च ब्यहोर्नेगरी लिएर दिएको थियो । सिन्धुपाल्चोकका पुराना र योगदान भएका कांग्रेस नेता कार्यकर्ता हुँदाहुँदै सर्जिकल सामग्रीको ब्यापार गरी अथाह आर्जन गरेकी मसिना खड्कालाई प्रदेशसभाको टिकट दिइएको थियो । पैसाकै बलमा उनले टिकट पाएकी थिइन् । प्रदेशसभाको टिकट ५ करोड बुझाएको आधारमा उनलाई दिइएको आरोप बस्नेतमाथि लागेको थियो ।

    त्यसो त बस्नेतले २०५६ मा चुनाव जितेपछि राणाकै छोरी विवाह गरेकाले उनलाई आरजुको ज्वाई समेत भन्ने गर्दछन् । यद्यपि थर मिले पनि बस्नेतकी श्रीमती माण्डवी आरजुको माइती खलक नजिकको राणा भने नभएको बताइन्छ ।

    आरजुले यसअघि ब्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएर त्यो मन्त्रालय अन्तर्गतको ठेक्कापट्टामा हुने लाभबारे जानकारी पाइसकेकी थिइन् । त्यही भएकाले पनि स्वास्थ्य मन्त्रीमा बस्नेतलाई ल्याउन उनको अभिरुची देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार