Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एसएसपी कार्कीको कमजोर कमाण्ड, बढ्दैछन् काठमाडौंमा अपराधका घटना

    एसएसपी कार्कीको कमजोर कमाण्ड, बढ्दैछन् काठमाडौंमा अपराधका घटना

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । पछिल्लो समय काठमाडौंमा आपराधिक घटनाहरु बढ्न थालेका छन् । हत्या/हिंसा, चोरी/डकैती, लुटपाट जस्ता अपराधका घटनाहरु दिनदिनै बढिरहेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी दानबहादुर कार्की आएसँगै हत्या हिंसा र चोरीका घटनाहरु झन मौलाएका छन् । एसएसपी कार्की काठमाडौंमा आएसँगै लेनदेन, चेक बाउन्स र असुलीका घटनाहरु पनि बढ्न थालेको प्रहरी अधिकारीहरु नै बताउँछन् ।



    काठमाडौंमा रहेका अधिकांश क्यासिनोले प्रहरीलाई सेटिङ मिलाएपछि अहिले नेपालीहरुले निर्वाध रुपमा प्रवेश गर्न पाएका छन् । होटल मेरियटमा रहेको क्यासिनोमा सबैभन्दा बढी नेपालीहरु प्रवेश गर्ने गरेको बताइएको छ । मेरियटलगायतका होटलमा रहेका क्यासिनोहरुमा धामी थरका एक विचौलियाले प्रहरीमा सेटिङ मिलाउँदै आएका छन् ।



    एसएसपी कार्कीको कमजोर चेनअफ कमाण्ड बसपार्क घटनामै देखिएको थियो । तर, त्यतिखेर तत्कालिन आईजीपी धिरजप्रताप सिंहले छिमेकी रहेकै कारण कार्कीलाई जोगाएर बालाजुका डिएसपी रविन विष्टलाई कारबाही गरी कार्कीको कमजोर कार्यशैलीलाई ढाकछोप गरेका थिए ।

    नयाँ बसपार्क काण्डमा काठमाडौं प्रहरी चुकैकै थियो । आँखै अगाडी मोवाइल पसल चोरी हुँदा र प्रहरीका दुई वटा गाडी जलेका थिए । २०७९ फागुन १ गते यातायात व्यवसायीले गरेको आन्दोलनका क्रममा प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्ट चढ्ने बा २ झ १४४ नम्बरको गाडीमा तोडफोड र आगजनी तथा बालाजु प्रहरीको बा १ झ ७२२४ नम्बरको गाडीमा पनि तोडफोड भएको थियो ।

    फागनु २ गते विष्टलाई उपत्यका प्रहरी कार्यालय तानिए पनि नेतृत्वको जिम्मा लिएका जिल्ला प्रमुख कार्कीलाई भने कुनै सोधपुछ समेत नगरी उन्मुक्ति दिइएको थियो । नयाँ आईजीपी र नयाँ गृहमन्त्री आएपछि पनि प्रहरी प्रशासनमा सुधार भने आउन सकेको छैन ।

    कपनको घटनाले पनि प्रहरीको क्षमतामाथि प्रश्न उब्जाएको छ । कपनस्थित सरस्वती नगरको व्यस्त सडकमा आफैँले सञ्चालन गरेको ‘निरु किचेन’ पसलभित्रै बाग्लुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया निरा आचार्यको ८ वैशाखमा चक्कु प्रहारबाट बीभत्स हत्या भएको थियो । उक्त घटनाका सम्बन्धमा प्रहरीले अहिलेसम्म कुनै सुईंको पाउन सकेको छैन ।

    आचार्यको हत्या भएको एक साता बितिसक्दा पनि हत्याराबारे प्रहरीले अझैसम्म कुनै ‘क्लु’ नै फेला पार्न सकेको छैन । हत्यारा पत्ता लगाउनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालय श्रेष्ठको नेतृत्वमा समिति बनाएको छ ।

    त्यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालयले एसपी रवीन्द्र रेग्मीको नेतृत्वमा समिति बनाएको छ । त्यस्तै, प्रहरी वृत्त बौद्धले समेत प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान समिति बनाएको छ । यीबाहेक जिल्ला प्रहरी परिसर काठमाडौंले समेत सादा पोशाकका प्रहरी निरीक्षकको टोलीमा छुट्टै प्रहरी टोली खटाएको छ । तर, अहिलेसम्म कुनै सुइको नपाउनुमा प्रहरी आफै कति कमजोर रहेछ भन्ने यो घटनाले देखाउँछ ।

    यतिसम्मकी नेपाली कांग्रेसका महामन्त्री समेत रहेका रहेका सांसद गगन थापाले बुधबार संसदमा कपन घटनाका कारण वरपरका मानिस आत्तिएको र प्रहरीको सुरक्षाप्रति नै विश्वास गर्ने वातावरण नबनेको टिप्पणी गरे ।

    त्यसो त काठमाडौंमा दिनदहाडै भएका चोरी र लुटपाटका घटनाले पनि प्रहरीको असक्षमतालाई पुष्टि गर्दछ । पशुपति, टिचिङ अस्पताल नयाँ वसपार्क, कलंकीलगायतका क्षेत्रबाट प्राय दिनहुँजसो दर्जनौ मोटरसाइकल चोरी हुने गरेको प्रहरीकै रेकर्डले देखाउँछ । तर, प्रहरी प्रशासन भने चोरी रोक्ने भन्दा पनि पीडितलाई उल्टै झपार्ने र मोटरसाइकलको सुरक्षा आफैले गर्नुपर्ने सुझाव दिएर पीडितलाई थप मर्कामा पुर्याउँदै आइरहेको छ ।

    पशुपतिमा मोटरसाइकल हराएपछि रिपोर्ट गर्न गौशाला प्रहरी प्रहरीमा पुगेका एक पीडितलाई डिउटीमा बसेका प्रहरीले उल्टै २२० सिसी पल्सर नकिन्न सुझाव दिएर पठाए । सिसिटिभी फुटेज हेरौन भनेर पीडितले आग्रह गर्दा प्रहरीले ‘सिसिटिभी हेरेर के गर्नुहुन्छ ? बाइक कहाँ पुर्याईसक्यो, बरु बाहिर गएर १०० र १०३ मा फोन गरेर आफै जानकारी गराउनुस् ।

    बाइकको विलबुकको फोटकपी र नागरिकताको फोटोकपी राखेर भोली निवेदन लिएर आउनुस्’ भन्दै प्रहरीले फर्काइदिएको पीडित नारायण भण्डारीले गुनासो गरे । भण्डारीले भने–‘रातको समय भएकाले न त हामीले डिउटीमा रहेका उनको(प्रहरीको) नाम नै हेर्न सक्यौं । न त माथिल्लो निकायमा कुरा राख्न नै पायौं ।’ २०७९ सालको शिवरात्रीको दिनमा मात्रै पशुपति क्षेत्रबाट ३० वटाभन्दा बढी मोटरसाइकल हराएको प्रहरीमै रेकर्ड छ । तर, अहिलेसम्म एक जना पीडितलाई मोटरसाइल फिर्ता दिएको रेकर्ड ट्राफिक प्रहरीसँग छैन । पशुपति क्षेत्रबाट हराएका मोटरसाइकलका घटनामा चोरहरुसँग प्रहरीकै घुमुवाहरुको मिलेमतो रहेको आशंका गरिएको छ ।

    त्यसैगरी दिउसोको समयमा मैतीदेवी, बानेश्वर, अनामनगर, सिंहदरबारलगायतका क्षेत्रबाट चोरी हुने गरेको छ । घरमा कोही नभएको मौका छोपेर लुटेराहरुले बहुमूल्य सामानहरु चोरी गर्दा समेत प्रहरीले चोर पत्ता लगाउन सकेको छैन ।

    केही दिन अगाडि काठमाडौंका गुण्डा नाइके चक्रे मिलन नेपालगञ्जमा आफ्नो बडीगार्डका साथ घातक हतियार ‘एके ४७’ सहित देखा परे । तर, प्रहरीले चक्रे मिलनलाई पक्राउ गर्न त परै जाओस् सोधपुछ समेत गर्न सकेन । चक्रेका गार्डलाई भने प्रहरीले पक्राउ गर्यो । चक्रे काठमाडौंमा पनि अहिले सक्रिय रहेको टिकटकमा रहेको उनका गतिविधिहरु हेर्ने हो भने पनि प्रष्ट हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार