Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गगन थापालाई हेलिकोप्टरमा सयर गराउने गुण्डा नाइके क्लब सञ्चालक कुटेर फरार

    गगन थापालाई हेलिकोप्टरमा सयर गराउने गुण्डा नाइके क्लब सञ्चालक कुटेर फरार

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 4.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग नजिकको सम्बन्ध बनाएका गुण्डा नाइके युवराज गुरुङ उर्फ सानोभाइ अहिले फरार छन् । काठमाडौंको ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङसहित केही कर्मचारीहरुलाई असार १५ गते राती कुटेर फरार भएका सानोभाइलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । दुई साता वितिसक्दा पनि प्रहरीले सानोभाइलाई पक्राउ नगर्दा गुण्डागर्दी मौलाएको भन्दै व्यवसायीहरु आत्तिन थालेका छन् ।

    असार १५ गते रातको करिब २ बजेको समयमा नुवाकोट ककनी गाँउपालिका घर भएका सानोभाइको समूहले क्लव सञ्चालक राजेन्द्रसहित अन्य कर्मचारी तथा बाउन्सरमाथि हातपात गरेको सीसीटिभी फुटेजमा प्रष्टै देखिन्छ । आफू असुरक्षित भएको भन्दै प्रहरीकहाँ पुगेका राजेन्द्रले सानोभाइको समूहले क्लबका कर्मचारीहरु सुरेश खड्का, आशिष नगरकोटी र आफूलाई विभिन्न अपशब्द बोली हातपात गरेको बताएका छन् । राजेन्द्रले प्रहरी वृत्त सोह्रखुट्टेमा उनीहरुविरुद्ध जाहेरीसमेत दिएका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले गुण्डा नाइके सानोभाइका ग्याङका दुई जना विनोद लामा र रघु लामालाई पक्राउ गरेपनि सानोभाइ भने अझै फरार नै छन् ।



    सानुभाई प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटेका समूहका व्यक्ति हुन् । उनी घैंटेको मुख्य सहयोगी भएर काम गर्थे । घैंटेको इन्काउन्टर भएपछि असुरक्षित मान्दै बुलेटप्रुफ ज्याकेट लगाएर हिड्ने गरेका उनै सानोभाइलाई प्रहरीले २०७२ सालमा पक्राउ गरेको थियो । त्यतिबेला उनको साथबाट पेस्तोल र गोलीसमेत बरामद भएको थियो ।



    सानोभाइले २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई हप्ता असुली नदिएको भन्दै गोली प्रहार गरेका थिए । नुवाकोटकै होटल व्यवसायी सुरेश डंगोललाई पनि उनले आक्रमण गरेका थिए । तर, राजनीतिक दबाबकाबीच सानोभाइमाथि त्यतिबेला कुनै कारबाही भएन । उनी नेपाली कांग्रेस निकट मानिन्छन् । कांग्रेस महामन्त्री थापासँग नजिकको सम्बन्ध बनाएका उनले राजनीतिक आडमा गुण्डागर्दी गर्दै आएका छन् ।

    २०७७ कात्तिक २६ मा डिस्कोमा सेयर मागेको र नदिएपछि हिंडेन डिस्को काठमाडौंका संचालक राज गुरुडमाथि सांघातिक आक्रमण गर्ने पनि उनै सानोभाइ नै थिए । युवासंघ नेपालका केन्द्रीय सदस्य मीनबहादुर गुरुङ (राज) लाई उक्त समूहले आक्रमण गरेको थियो । थिए । घलेले पेस्तोल देखाएर डिस्कोको विनालगानी सेयर मागेका थिए । राजले सेयर नदिने भनेपछि घले समूहले उनीमाथि आक्रमण गरेको थियो ।
    उनको समूहले २०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जीतबहादुर कार्कीलाई अंगभंग हुनेगरी आक्रमण गरेको थियो भने २०७९ को माघमा गोर्खास्थित एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन गएका उनले एक महिलामाथि बलात्कारको प्रयाससमेत गरेका थिए ।

    उनै सानोभाइ र शैलेश श्रेष्ठले २०७७ फागुन ७ मा बीपी स्मृति भवन नुवाकोटको उद्घाटन गराउन आफ्नै खर्चमा गगन थापालाई हेलिकोप्टरमा लगेका थिए । राजनीतिक आडमा गुण्डागर्दी गर्दै आएका सानोभाइलाई अहिलेसम्म प्रहरीले किन पक्राउ गर्न सकेन भन्ने प्रश्न उठ्न थालिसकेको छ ।

    पछिल्लो केही समययता उपत्यकामा गुण्डागर्दी मौलाएको भन्दै उजुरी लिएर प्रहरीका पुग्ने व्यवसायीको संख्या बढ्न थालेको छ । कतिले लिखित उजुरी नै दिएका छन् भने कतिले मौखिक रुपमा प्रहरीलाई गुण्डागर्दी मौलाएको जानकारी गराएका छन् । चेक बाउन्सका केसमा आफ्नो स्वार्थ अनुकुल काम गर्दै अदालतबाट पक्राउपुर्जी ल्याएर तुरुन्तै पक्राउ गरी मुद्दा चलाउने काठमाडौं प्रहरीले व्यवसायी कुटेर फरार भएका सानोभाइ जस्ता गुण्डा नाइकेलाई भने पक्राउ गर्न नसक्नु आश्चर्यको विषय बनेको छ ।

    गुण्डा नाइके सानोभाइलाई गगन थापासँग नजिक गराउने पात्र हुन् शैलेश श्रेष्ठ । भक्तपुर बस्ने श्रेष्ठ मिटरब्याजका नाइकेका रुपमा चिनिन्छन् । श्रेष्ठको प्रहरीका उच्च अधिकारीहरुसँग नजिकको सम्बन्ध रहँदै आएको उनले नै सामाजिक सञ्जालहरुमा पोष्ट गरेका तस्विरहरुबाट पुष्टि हुन्छ । श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गर्ने हो भने सानोभाइ कहाँ छन् भन्ने पत्ता लाग्ने प्रहरी स्रोत नै बताउँछ ।

    काठमाडौंमा बढ्न थालेका गुण्डागर्दी तथा आपराधिक घटनाका विषयमा प्रतिकृया लिनका लागि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीलाई फोन गर्दा उनको फोन उठेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार