Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सशस्त्रमा यसरी हुन्छ ठेक्का सेटिङ, अख्तियारले छानविन गर्ला ?

    सशस्त्रमा यसरी हुन्छ ठेक्का सेटिङ, अख्तियारले छानविन गर्ला ?

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 3.8K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलमा शैलेन्द्र खनाल आईजीपी हुँदा ४ बर्षकै खरिदमा सेटिङ हुने गरेको बिषय बारम्बार उजागर हुने गरेको थियो ।

    राजु अर्याल आईजीपी भएपछि सशस्त्रको खरिद प्रक्रिया पारदर्शी हुने अपेक्षा गरिएको थियो । यद्यपि उनी आएपछि पनि पुरानै रोगले निरन्तरता पाएको छ ।



    सशस्त्रको खरिद हेर्ने प्रबन्ध महाशाखामा खनालकै पालादेखि एसएसपी दीपेन्द्र कुँवर प्रमुख छन् । लेखाका गणेशबहादुर मल्लको भने केही महिनाअघि सरुवा भएको छ । अर्याल आईजीपी भएपछि पनि सशस्त्रको खरिदमा सेटिङ रोक्न नसकेको आरोप छ ।



    कुँवर कांग्रेस सभापति शेरबहादुर देउवाका पीए निजी सचिव भानु देउवाका बहिनीज्वाई हुन् । उनलाई प्रबन्ध महाशाखाबाट हटाउन अर्यालले सकेका छैनन् ।

    सशस्त्रको बन्दोबस्तीका सामान खरिदमा कसरी सेटिङ हुन्छ भन्ने कुरा ३७ हजार सेट चुस्ता खरिदको बोलपत्रका क्रममा देखिएको छ । चुस्ताको ठेक्कामा २ वटा कम्पनीले बोलपत्र पेश गरेका थिए । टोपेन्द्र बीसी र बीरेन्द्र जोशी लगायतको टीमले प्लस पोइन्टका नाममा र बिष्णुकुमार श्रेष्ठको बीएसएस गार्मेन्टले चुस्ता खरिदको बोलपत्र पेश गरेका थिए ।

    जोशीको प्लस पोइन्टको नमूना पास भयो । बीएसएस गार्मेन्टको नमूना मापदण्ड अनुसार नभएपछि फेल भएको थियो । बिष्णुकुमार श्रेष्ठले सशस्त्र मुख्यालय र सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी हाल्नसक्ने देखिएपछि जोशी र बीसीले बिष्णुकुमार श्रेष्ठको बीएसएसलाई चुस्ता सिलाइको काम दिने भनेर फकाए । र, आगामी बैशाखमा भुक्तानी हुनेगरी २० लाखको चेक समेत काटेर दिएको स्रोत बताउँछ ।

    एसएसपी कुँवरसँगको सेटिङमा चुस्ताको टेण्डर पारेका बीसी र जोशीले चुस्ता नभित्र्याउँदै अर्का बोलपत्रदाता बिष्णुकमारलाई सिलाउन दिने भनेर उजुरी हाल्नबाट रोक्न सफल भएको सशस्त्रका एक उच्च अधिकारी बताउँछन् ।

    बीसी र जोशीको टीमको छलफलपछि श्रेष्ठलाई चेक दिइएको स्रोत बताउँछ । बिष्णुकुमार श्रेष्ठ रास्वपाका केन्द्रीय सदस्य हुन् । स्रंोतका अनुसार श्रेष्ठलाई टोपेन्द्र बीसीले आफ्नै कम्पनी तेजसम इन्टरप्राइजेजको चेक दिएका छन् ।

    असारभित्रमा चुस्ता बुझाइसक्नुपर्ने भएकाले बैशाखमा सिलाइ गर्न चेक दिइएको स्रोत बताउँछ । बोलपत्र खोलेपछि चित्त नबुझ्ने आपूर्तिकर्ता सुरुमा सशस्त्र मुख्यालय र त्यहाँबाट आफ्नो पक्षमा निर्णय नआए १५ दिनपछि खरिद अनुगमन कार्यालयमा धरौटी राखेर जानुपर्ने ब्यवस्था छ ।

    बिष्णुकुमार श्रेष्ठले नेपाल प्रहरीको केही समय चुस्ता खरिदको टेण्डर पनि हालेका थिए । केही समयअघि नेपाल प्रहरीको चुस्ता खरिदका लागि वीरेन्द्र जोशी, टोपेन्द्र बीसीको समूह, ज्ञानेन्द्र बस्नेतको समूह र बिष्णुकुमार श्रेष्ठको बीएसएसले टेण्डर हालेका थिए ।

    बस्नेतको समूहको चुस्ता प्राविधिक मूल्यांकनमा पास भएपछि टोपेन्द्र बीसीले बिष्णुकुमार श्रेष्ठलाई प्रहरी मुख्लालय र सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिन लगाए । तर दुवै निकायबाट बीएसएसको पक्षमा निर्णय भएन ।

    प्रहरीकै जस्तो उजुरी गर्नसक्ने र बिग्रन सक्ने देखेर सशस्त्रको चुस्ता सिलाइको काम दिएर थामथुम पारिएको छ । यसरी भएको ठेक्का सेटिङमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात मगाएर छानबिन गर्ने हो भने सेटिङको पर्दाफास हुने निश्चित छ ।

    त्यसैगरी, सशस्त्र प्रहरी बलमा विगत बर्षभन्दा तेब्बर बढी मूल्यमा खरिद गर्न लागिएको ३७ हजार बाल क्यापको टेण्डर रद्द भएको छ । टोपेन्द्र बीसीको तेजसमको स्पेक हाले पनि उक्त ठेक्का एक बोगटी थरका आईजीपी अर्यालनिकट बिचौलियाले पाउने गरी सेटिङ भएको थियो । तर यसबारेमा मिडियामा कुरा चुहिएपछि सेटिङ भत्किन पुगेको छ ।

    सशस्त्रमा ठेकेदारका कागज मिलाउनेदेखि ठेक्का सेटिङ गर्न प्रबन्धका एसएसपी कुँवरले सई जीवन अधिकारीलाई खटाउने गरेका छन् । सई अधिकारी ११ बर्षदेखि कार्यरत छन् प्रबन्धमा । उनी कागजात मिलाउन सिपालु भएकाले कुँवरको प्रेसरले उनलाई राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार