Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • घाम डुब्दा सम्पर्कविहीन हुन्छन् चौरपाटीको सिउँडी र सोकटवासी

    घाम डुब्दा सम्पर्कविहीन हुन्छन् चौरपाटीको सिउँडी र सोकटवासी

    डोटीको बोगटान फुड्सिलमा पनि हुँदैन 'नेटवर्क'

    पूर्ण बहादुर साउद
  • शुक्रबार, १३ पुष २०८०
  • 4K
    SHARES

    फाइल तस्विर

    अछाम । जिल्लाको चौरपाटी गाउँपालिका र डोटीको बोगटान फुड्सिल गाउँपालिका लगायतका केही स्थानमा नेपाल टेलिकमको नेटवर्क नहुँदा सेवाग्राही मारमा परेका छन् ।

    पछिल्लो केही महिना यता बिहान र रातिको समयमा मोबाइलमा नेटवर्क नहुँदा त्यहाँका सेवाग्राही मारमा परेका हुन् । नेटवर्कमा समस्या आउँदा फोन नलाग्ने, लागे पनि नबुझिने समस्या छ ।



    घाम लागेपछि नेटवर्कले सामान्य काम गरे पनि घाम अस्ताएपछि नेटवर्कले काम गर्न छाडेको स्थानीय बताउँछन् । चौरपाटी गाउँपालिकाको वडा नम्बर १ र २ लगायतका स्थानमा यो समस्या रहेको छ ।



    वडा नम्बर १ सिउँडीको पियासल्ला र सिरपालि लगायतका स्थानमा बिहान र रातिको समयमा बढी टेलिकमको नेटवर्कमा समस्या आउन थालेको स्थानीयको गुनासो छ ।

    रातिको समयमा बिरामी परे वा कुनै समस्या आएमा खबर गर्न समस्या हुने गरेको पियासल्ला बस्दै आएका स्थानीय विशाल साउँदले बताए । उनका अनुसार साँझ ५ बजेदेखि बिहानको ८ बजेसम्म वा घाम नलागेसम्म नेटवर्क नेटवर्कविहीन हुनुपर्ने अवस्था छ ।

    ‘नेपाल टेलिकमको टावर गाउँकै माथिल्लो डाँडोमा छ, तर टावरले जसोजसो घाम डुब्दै जान्छ, मोबाइलमा नेटवर्क हराउँदै जान्छ,’ उनले भने, राति कोही विरामी प¥यो वा केही घटना भयो भने पनि फोन गर्न मोबाइलमा नेटवर्क हुँदैन ।’

    उनले नेपाल टेलिकमको मात्र नभएर एनसेलको पनि नेटवर्क नहुने गुनासो गरे । उता वडा नम्बर २ सोकटमा पनि साँझ परेपछि मोबाइलको नेटवर्क नहुँदा स्थानीय बासिन्दा सम्पर्कविहीन हुनु परेको छ । बिहान घाम लागेपछि मात्रै टेलिकमको नेटवर्क आउने गरेको त्यहाँका सेवाग्राहीको दुखेसो छ ।

    यति मात्रै होइन चौरपाटी गाउँपालिकामा करिब ४–५ महिना यता नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम गर्न छोडेको छ । स्थानीयहरूका अनुसार फोन नलाग्ने, लागे पनि नसुनिने जस्ता समस्या छन् । यस्तै डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पनि साँझ बिहान टेलिकमको नेटवर्कले काम गर्न छाडेको छ ।

    स्थानीय गणेश विनाडीका अनुसार घाम अस्ताए पछि वा दिउँसोको समयमा पनि नेटवर्कले राम्रोसँग काम गर्न छोडेको छ । त्यहाँ पनि सिउँडीमा रहेको टेलिकमको टावरले काम गर्दै आएको छ । नेपाल टेलिकम सिउँडीको टावरमा समस्या आउँदा अछाम र डोटी लगायतका जिल्लाका विभिन्न स्थानमा नेटवर्कको समस्या छ ।

    यता नेपाल टेलिकम डडेल्धुराका इञ्जिनियर लक्ष्मण चन्दले सिउँडीमा रहेको टावरमा पुराना ब्याट्री भएका कारण साँझ परेपछि नेटवर्कमा समस्या आउने गरेको बताए । उनले आफूहरूले समस्या समाधान गरिरहेको बताउँदै अबको केही दिनमा समाधान हुने दाबी गरे । टावरलाई सोलार प्यानलको ब्याट्रीमार्फत सञ्चालन गरिएको छ  ।

    चौरपाटीका सबै वडामा बिजुली पुगे पनि सिउँडीमा अवस्थित टेलिकमको टावरमा बिजुली पुग्न सकेको छैन । जस कारण बेला बेला नेटवर्कमा समस्या आउने गरेको छ । टावरसम्म बिजुली पु¥याउने विषयमा पनि पालिकासँग छलफल गरिएको इञ्जिनियर चन्दको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार