Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जीबी राईले बेचेका जग्गाको अनुसन्धान गर्दै सीआईबी र सम्पत्ति शुद्धिकरण विभाग

    जीबी राईले बेचेका जग्गाको अनुसन्धान गर्दै सीआईबी र सम्पत्ति शुद्धिकरण विभाग

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 7.6K
    SHARES

    काठमाडौं । पोखरा, बीरगंज, चितवन, काठमाडौं, बुटवलदेखि नेपालगंजमा सहकारी खोलेर सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँ बचत अपचलन गरेका गीतेन्द्रबाबु राई (जीबी)ले खरिद गरेका धेरै घरजग्गाको बिषयमा नेपाल प्रहरीका विभिन्न युनिट र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन थालेका छन् ।

    पोखरादेखि काठमाडौंसम्म खोलेका सहकारीमा सहकारी ऐन नियमबिपरीत जीबी नै अध्यक्ष थिए । सहकारी ऐनले एउटा सहकारीमा सदस्य भएको ब्यक्ति अर्को सहकारीमा सदस्य हुन निषेध गरेको छ ।



    तर जीबी त एउटा सहकारीको सदस्यमात्र होइन, ६ वटा सहकारीको अध्यक्ष नै थिए । नियामक निकाय सहकारी बिभागदेखि प्रहरी प्रशासन सबै ठाउँमा प्रभाव पारी ऐन बिपरीत ६ वटा सहकारीको अध्यक्ष भएका जीबीले सर्वसाधारणको बचत अपचलन गरी विभिन्न ठाउँमा घरजग्गा किनेको र सहकारी समस्यामा परेपछि ती घरजग्गा बिक्री गरेकोबारेमा अनलाइन नेपालले उजागर गर्दैआएको छ ।



    जीबीले सर्वसाधारणको बचतबाट आफ्नो नाममा अरबौंको घरजग्गा खरिद गरेको तथ्य फेलापरेको छ । बचतकर्ताको बचत अपचलन गरी जीबीले ललितपुरको सैंबू भैसेपाटीमा २३ रोपनी ७ आना जग्गा खरिद गरेका थिए ।

    पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले २०७९ बैशाखतिरै बचत फिर्ता नपाएको उजुरी कास्की प्रहरीमा दिए पनि तत्कालीन एसपी अजय केसीले दर्ता गरेका थिएनन् ।

    कास्की प्रहरीमा उजुरी परेपछि जीबीले जग्गा बिक्री गर्न सुरु गरेका थिए । सबैभन्दा महंगो ललितपुरको उक्त जग्गा उनले १ बर्षअघि बिक्रीमा राखेका थिए । तर सहकारीदेखि अबैध नेटवर्किङ ब्यापारमा संलग्न जीबीको उक्त जग्गा खरिद गर्दा समस्यामा पर्ने देखिएपछि कसैले पनि चासो राखेनन् ।

    सैंबू भैंसेपाटीको सो जग्गा बिक्री नभएपछि जीबी समेत संलग्न रहेको चेनी क्यापिटलका संचालक चेतन भण्डारी र पवनकुमार साहलाई हतार हतार उक्त जग्गा बिक्री गरिएको थियो । चेनी क्यापिटलमा जीबी राईसमेत संलग्न रहेका थिए ।

    पहिला जीबीको समेत आवद्धता रहेको चेनी क्यापिटलमा बाजेको सेकुवाका मालिक चेतन भण्डारी र सत्यम एग्रो प्रालि र रक्षम इन्टरनेशनल प्रालिका संचालक पवनकुमार साहका आफन्त रहेका छन् । चेनीमा चेतन भण्डारीका आफन्त एकनाथ भण्डारी र पवनकुमार साहकी श्रीमती रश्मीदेवी साह संचालक छन् ।

    चेनी पहिला जीबी राई, चेतन भण्डारी र पवनकुमार साहले खोलेको कम्पनी भएको बताइएको छ । जीबीले भैंसेपाटीको जग्गा आफ्नो नामबाट चेनी क्यापिटलको नाममा पास गरेर कानुनी रुपमा उक्त जग्गा रोक्का हुनबाट जोगाउन खोजिरहेका छन् ।

    तर बचतकर्ताको बचतबाट किनिएको उक्त जग्गा बिक्री गरे पनि बदर हुने सहकारी विभागका रजिष्टार पिताम्बर घिमिरेले अनलाइन नेपालसँग बताएका छन् । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि उक्त जग्गामात्र नभई देशका विभिन्न ठाउँमा जीबी समूहले खरिद गरेका जग्गाको स्रोतको बारेमा छानबिन थालेको एक अधिकारीले बताए ।

    सीआईबीले पनि जीबी संलग्न गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हर्व प्रालि, नेचर नेस्ट प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ वुड रियल स्टेट एन्ड हाउजिङ प्रालि, चेनी क्यापिटल प्रालि, ग्रिजी स्पुन प्रालि, गोर्खा ग्रुप इन्भेस्टमेन्ट प्रालि, जीबी ग्रुप अफ कम्पनी प्रालि, गोर्खा आयुर्वेदिक प्रालि, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, सानोपाइला बचत तथा ऋण सहकारी, सहारा बहुद्देश्यीय सहकारी, सुप्रिम बचत तथा ऋण सहकारीविरुद्ध परेका जाहेरीमाथि अनुसन्धान थालेको छ ।

    सीआईबीका एसपी होविन्द्र बोगटीले भने–‘जीबी समूहले सहकारीको बचतबाट खरिद गरी बिक्री गरेका विभिन्न ठाउँका जग्गाको बारेमा प्रहरीका विभिन्न युनिटमा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको छ । आवश्यक परेको खण्डमा सबै मगाएर हेर्न सकिन्छ ।’

    त्यसो त सहकारीको रकमबाट किनिएको ललितपुर सैंबूको २३ रोपनी ७ आना जग्गामध्ये करिब ३ रोपनी धितो राखी हिमालयन बैंक न्यूरोड शाखाबाट १६ करोड ८० लाख ऋण निकालिएकोबारेमा पनि राष्ट्रबैंकमा समेत उजुरी परेको छ ।

    जग्गा खरिद गरेको २ हप्ता नबित्दै हिमालयन बैंकबाट ऋण निकालिएको तथा बैंक बैंकले धितोको ४० प्रतिशत मात्र कर्जा दिन पाउने नियम भए पनि सेटिङमा ओभरभ्यालुएसन गरी कर्जा दिइएको छ ।

    जुन प्रकरणलाई सीआईबीले अनुसन्धानको दायरामा राखेको छ । गुडविलका आधारमा अनियमित ऋण प्रवाह गरेको आरोपमा सेन्चुरी बैंकका तत्कालीन मनोज न्यौपानेसहितका ११ बैंकर्सलाई पक्राउ गरी सीआईबीले अनुसन्धान गरिरहेको छ ।

    धितोभन्दा अधिक मूल्यांकन गरेर ऋण निकालिएको ललितपुरको उक्त जग्गाको अनुसन्धान भएको खण्डमा हिमालयन बैंकका सीईओ अशोकशमशेर राणा, न्यूरोड शाखाका म्यानेजरदेखि धेरै कर्मचारी तानिने अवस्था देखिएको छ ।

    हिमालयन बैंकका सीईओ अशोकशमशेर राणाले शंकास्पद कारोबारी पवनकुमार साहको सेटिङमा मूल्यांकनको सतप्रतिशत नै ऋण दिएको खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार