Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • भावी प्रधानसेनापतिको नागरिकता छानबिनको माग, गृहमन्त्री लामिछाने समक्ष उजुरी

    भावी प्रधानसेनापतिको नागरिकता छानबिनको माग, गृहमन्त्री लामिछाने समक्ष उजुरी

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 4.3K
    SHARES

    काठमाडौं । नेपाल सेनाका रथी अशोकराज सिग्देलको नागरिकता छानबिनको माग गरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समक्ष उजुरी परेको छ ।

    नेपाली सेनाका भावी प्रधानसेनापतिका रूपमा अघि बढाइएका सिग्देलले जन्म मिति सच्याएर नागरिकताको प्रतिलिपि लिएको आरोप छ ।



    सिग्देलको वास्तविक जन्ममिति २०२१–१२– १९ भएकोमा पछि २०२३–१०–१९ बनाइएको प्रमाणसहित उजुरी परेको हो । जसअनुसार यसमा विस्तृतमा छानबिन हुन लागेको गृह मन्त्रालय स्रोत बताउँछ ।



    रुपन्देहीको सिद्धार्थनगर–६ स्थायी घर भएका सिग्देलले सुरुमा रुपन्देहीबाटै नागरिकता लिएकोमा पछि जाजरकोटबाट नागरिकता लिएका थिए । जन्म मिति कीर्ते गर्नकै लागि उनले २०५८ सालमा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएका बताइन्छ । जून घटना निकै शंकास्पद देखिएको छ ।

    दुर्गम जिल्लामा जाजरकोटमा उनी किन बसाई सरे भन्ने प्रश्न गम्भीर छ । उनले अध्ययन गरेको सुपिङ क्याम्पसको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेख दर्ता नम्बर ७०४–८४ मा जन्ममिति २०२१ साल नै उल्लेख छ । पछि अभिलेखमै कीर्ते गरेर जन्ममिति सच्याएको प्रष्ट देखिएको छ ।

    सिग्देलले २०३९ सालको ८ फागुनमा प्रवेशिका परीक्षा दिएका थिए । त्यसमा पनि जन्ममिति २०२१ नै रहेको छ । नेपाली सेनामा व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रहरूमा फरक फरक जन्ममिति भएमा जून मितिबाट पहिला अवकाश हुन्छ त्यही मितिका आधारमा अवकाश दिने प्रावधान छ ।

    सोही आधारमा धेरैले अवकाश पाइसकेका छन् । त्यस कारण रथी सिग्देलले पनि अवकाश पाइसक्ने अवस्था छ । चार महिनाअघि ताराध्वज पाण्डे रथीमा बढुवा सिफारिस भइसकेपछि यस्तै काण्डमा राजीनामा दिएका थिए । त्यति बेला सिग्देलमाथि पनि रक्षा मन्त्रालयमा छानबिनबारे छलफल चलेको थियो ।

    तर, सेनाका धेरै उच्च अधिकारीको जन्ममिति कीर्ते रहेको विषय बाहिर आउँदा समस्या हुने भन्दै सिग्देलको हकमा विस्तृत छानबिन नगरी बढुवा गरिएको थियो ।

    तर, प्रधानसेनापतिकै जन्ममिति कीर्ते भएको विवरण बाहिर आउँदा संगठनकै बेइज्जत हुने र कमाण्ड पनि कमजोर हुनसक्ने भएकाले तत्काल यसको निरूपण गर्नेबारे रक्षा मन्त्रालयले छलफल थालेको बताइन्छ ।

    नेपाली सेनामा आगामी भदौमा नेतृत्व परिवर्तन हुँदैछ । जसमा सिग्देल प्रमुख दाबेदार हुन् । तर, जन्ममिति विवादका कारण सिग्देल जतिसुकै बेला पनि राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको सैनिक स्रोत बताउँछ ।

    त्यस कारण रक्षा मन्त्रालय र गृह मन्त्रालयले उनको नागरिकता र जन्ममिति विवादमा छिटो छानबिन टुंग्याउने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार