Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सिरिया आक्रमणको जवाफबाट इजरायल पूर्ण रूपमा आतंकित : इरान

    सिरिया आक्रमणको जवाफबाट इजरायल पूर्ण रूपमा आतंकित : इरान

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 1.2K
    SHARES

    तेहरान । सिरियामा भएको हमलामा आफ्नो रिभोल्युसनरी गार्डका सदस्यहरू मारिएपछि इरानका तर्फबाट सम्भावित प्रतिशोधको प्रतिक्रियाले इजरायल आतंकित बनेको इरानका सर्वोच्च नेताका एक सल्लाहकारले शनिबार बताएका छन् ।

    “यहुदीहरू पूर्ण रूपमा आतंकित बनेको र सतर्क अवस्थामा रहेको एक साता भएको छ,” सर्वोच्च नेता आयातुल्लाह अली खमेनीका वरिष्ठ सल्लाहकार याह्या रहिम सफवीको भनाइ उद्धृत गर्दै आईएसएनएले भनेको छ, “इरानले के गर्न खोजेको छ भन्नेबारे उनीहरूलाई थाहा छैन । त्यसैले उनीहरू र उनीहरूका समर्थक भयभीत भएका छन् ।”



    इरानले अप्रिल १ मा दुई जनरलसहित इस्लामिक रिभोल्युसनरी गार्डका सात सदस्यको मृत्यु हुने गरी सिरियाको राजधानी दमास्कसमा वाणिज्य दूतावासको भवन ध्वस्त पार्ने हमलाका निम्ति इजरायललाई दोष दिँदै आक्रमणको बदला लिने वाचा गरेको छ ।



    यस घटनामा कुनै टिप्पणी नगरेको इजरायलले हमलापछि आफ्ना सेनाले बिदा निलम्बनको घोषणा गरेको जनाएको छ । अधिकारीहरूले हवाई सुरक्षा सञ्चालन गर्न जनशक्ति बढाउन र जगेडा सैनिकहरू तयार गर्ने फैसला गरेको सेनाले जनाएको छ ।

    सफवीले भने, “यो मनोवैज्ञानिक सञ्चारमाध्यम र राजनीतिक युद्धका निम्ति युद्धभन्दा पनि भयानक छ । किनकि, इजरायल प्रत्येक रात हमलाको प्रतीक्षा गरिरहेको छ । तीमध्ये धेरै भागेका छन् र आश्रयमा गएका छन् ।”

    बेलायतस्थित युद्ध निगरानीकर्ता सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले अप्रिल १ मा भएको हमलामा १६ जना मारिएको जनाएको छ । मारिनेमा जनरल मोहम्मद रजा जाहेदी र मोहम्मद हाजी रहिमी पनि थिए । उनीहरू आइएआरजीसीका विदेशी अपरेसन शाखा कुद्स फोर्सका वरिष्ठ कमान्डर थिए ।

    सन् २०२० मा बग्दाद विमानस्थलमा अमेरिकाको मिसाइल हमलामा कुद्स फोर्सका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि मारिएका ६३ वर्षीय जाहेदी सबैभन्दा वरिष्ठ इरानी सैनिक थिए ।

    दमास्कसमा गरिएको हमला गाजा युद्धको पृष्ठभूमिमा भएको थियो । अक्टोबर ७ मा इजरायलमाथि हमासबाट सुरु भएको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार १७० जनाको ज्यान गएको थियो ।

    तेहरानले हमासलाई समर्थन गर्छ । तर, उसले हमलामा कुनै पनि प्रत्यक्ष संलग्नतालाई अस्वीकार गरेको छ । गाजा क्षेत्रमा हमासविरुद्ध ठूलो मात्रामा इजरायली जवाफी कारबाही जारी छ । इरानले इजरायललाई मान्यता दिँदैन र दुवै मुलुकले वर्षौँसम्म छाया युद्ध लडेका छन् ।

    इरानले इजरायलमाथि उसको आणविक कार्यक्रमलाई निसाना बनाउँदै तोडफोड र हत्याको शृंखला चलाएको आरोप लगाएको छ । रासस/एएफपी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार