Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ

    जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 414
    SHARES

    झापा । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा गएको चैत २८ गते जातीय आधारमा विभेद र अपमान गरेको भन्दै जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनलाई शनिबार साँझ बिर्तामोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले बताए ।



    गिरीले पोर्तेललाई टेलिफोन संवादमार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ आकर्षण हुने गरी अभिव्यक्ति दिएको आधारमा पक्राउ गरिएको उनले जानकारी दिए ।



    गएको चैत १८ गते हल्दिबारीमा भएको नेकपा एमाले हल्दिबारी गाउँपालिकाको बैठक सकाएर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएको आरोप छ । पक्राउ गरिएका गिरीलाई हाल इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको प्रवक्ता चन्दले बताए ।

    पोर्तेल नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव र एमाले कोसी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा छन् । केही दिनअघि नेपाल दलित संघ, मुक्ति समाज झापा, नेपाल दलित मुक्ति मोर्चा, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन, दलित जागरण अभियान र ओरिफ नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै गिरीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेका थिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार