काठमाडौं । ओपनर कुशल भुर्तेलको अर्धशतकमा नेपालले आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा कुवेतविरुद्ध १४२ रनको लक्ष्य दिएको छ ।
बुधबार ओमानको अल अमेरितमा टस जितेर कुवेतले फिल्डिङ रोजेपछि पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४१ रनको योगफल खडा गरेको हो ।
नेपालबाट ओपनिङदेखि अन्तिम ओभरसम्म क्रिजमा उभिएका भुर्तेलले सर्वाधिक ६६ रन बनाए । उनले ५६ बलमा तीन चौका र तीन छक्का प्रहार गरे ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो १२औँ अर्धशतक हो । भुर्तेललाई २०औँ ओभरको पाँचौँ बलमा कुवेतका अनुदीप चन्दमाराले बोल्ड गरेका थिए ।
यस्तै, आक्रामक ब्याटिङ गर्दै गुल्सन झाले ६ बलमा २० रन बनाए । उनले यसक्रममा तीन छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले पनि २० रन थप्दा कप्तान रोहितकुमार पौडेलले १६ रन जोडे । नेपालका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
कुवेतका अनुदीप र नविनराज राजेन्द्रनले समान दुई विकेट लिए । मोहम्मद अस्लम र मोहम्मद फारुकको नाममा समान एक विकेट रह्यो ।
आजदेखि ओमानको अल अमेरतमा सुरु भएको प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै कुवेत र जापान छन् ।