एजेन्सी । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना, उनका सुरक्षा सल्लाहकार मेजर जनरल (अवकाशप्राप्त) तारिक अहमद सिद्दिकसहित २८ जनाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको छ ।
आवामी लिग नेतृत्वको शासनकालमा जबर्जस्ती बेपत्ता र यातनासम्बन्धी दुई फरक मुद्दाको सुनुवाइपछि न्यायाधिकरणले यो आदेश दिएको हो ।
अभियोजन पक्षले दायर गरेको मानवताविरुद्धको अपराधसम्बन्धी आरोप स्वीकार गर्दै अदालतले अनुसन्धानका लागि पक्राउ आदेश जारी गरेको बताइएको छ।
पहिलो मुद्दा विपक्षी कार्यकर्ताको अपहरण र र्यापिड एक्सन बटालियनद्वारा सञ्चालित टास्कफोर्स इन्टरोगेसन सेलमा दिइएको यातनासँग सम्बन्धित छ ।
दोस्रो मुद्दा डाइरेक्टोरेट जनरल अफ फोर्सेज इन्टेलिजेन्स अन्तर्गतको संयुक्त सोधपुछ कक्षमा गरिएको अवैध थुनामा राख्ने र यातना दिने घटनासँग जोडिएको छ।
७८ वर्षीया हसिनाले गत वर्ष विद्यार्थी नेतृत्वको देशव्यापी आन्दोलनपछि सत्ता गुमाएकी थिइन्। त्यसयता उनीविरुद्ध सत्ताको दुरुपयोग र मानवअधिकार उल्लंघनका दर्जनौँ मुद्दा दर्ता भइरहेका छन् ।