एजेन्सी । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सुनाउने अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको फैसलालाई उनको पार्टी अवामी लिगले अस्वीकार गर्दै त्यसलाई ‘दुर्भावनापूर्ण, प्रतिशोधप्रेरित र राजनीतिक षड्यन्त्र’ को उपज भनेको छ ।
सोमबार सुनाइएको उक्त फैसलापछि बंगलादेशको राजनीतिक वातावरण झनै चर्किएको छ । अवामी लिगले विज्ञप्ति जारी गर्दै अदालतको निर्णय लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन भएको दाबी गरेको छ।
विज्ञप्तिमा भनिएको छ, 'हामी विश्वस्त छौँ—बंगलादेशका जनता, अवामी लिग र सबै मुक्ति संग्रामका समर्थकले यस निर्णयविरुद्ध व्यापक आन्दोलन सुरु गर्नेछन्।'
पार्टीले मंगलबारका लागि देशव्यापी बन्द को घोषणा गरेको छ । साथै नोभेम्बर १९ देखि २१ सम्म देशभर विरोध प्रदर्शन गर्ने आह्वान गर्दै फैसलाविरुद्ध एकजुट हुन कार्यकर्तालाई निर्देशन दिएको छ ।
अवामी लिगले अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस र उनको नेतृत्वमा बनेको न्यायाधिकरणप्रति पनि गम्भीर प्रश्न उठाएको छ।
विज्ञप्तिमा भनिएको छ,'निर्वाचित सरकारलाई विस्थापित गरी अवैध र असंवैधानिक तरिकाले सत्ता कब्जा गरेका युनुसले अन्तर्राष्ट्रिय सिद्धान्तहरूको उल्लंघन गर्दै अवैध न्यायाधिकरण गठन गरेका छन्।'
पार्टीले न्यायाधिकरणलाई ‘पूर्णतया गैरकानूनी, दुर्भावनापूर्ण र राजनीतिक प्रतिशोधले संचालित’ रहेको आरोप लगाएको छ।
हसिनाविरुद्ध दायर मुद्दालाई अवामी लिगले एक ढोंगबाहेक अरू केही होइन भन्दै खारेजयोग्य ठहर गरेको छ।
गत वर्ष जुलाई–अगस्टमा भड्किएको विद्यार्थी आन्दोलनका क्रममा १ हजार ४०० जनाको मृत्यु भएको थियो । त्यो घटनामा ‘मानवताविरुद्धको अपराध’ को आरोप लगाउँदै पूर्वप्रधानमन्त्री हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाइएको हो।