एजेन्सी । बङ्गलादेशले मानवताविरुद्धको अपराधमा दोषी ठहर भई मृत्युदण्ड सुनाइएका अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतले तत्काल सुपुर्दगी गर्नुपर्ने औपचारिक आग्रह गरेको छ ।
हसिनालाई ढाकाको अदालतले अनुपस्थितिमै फाँसीको सजाय सुनाएको केही घण्टापछि सोमबार बङ्गलादेश सरकारले भारतसँग कूटनीतिक नोटमार्फत सुपुर्दगी माग गरेको हो ।
७८ वर्षीया हसिना सन् २०२४ को जनविद्रोहपछि पदच्युत भएकी थिइन्। बलियो जनआन्दोलनसँगै सत्ता त्यागेपछि उनी भारततर्फ भागेर नयाँदिल्ली पुगेकी बताइन्छ।
हाल उनी राजधानी दिल्ली वा कुनै अन्य भारतीय शहरमा आश्रय लिएर बसेको बङ्गलादेशी अधिकारीहरूको अनुमान छ। यही आश्रयले दुई छिमेकी मुलुकबीच संवेदनशील कूटनीतिक तनाब थपिएको छ ।
अदालतले हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई गत वर्ष विद्यार्थी नेतृत्वमा भएको जनआन्दोलनविरुद्ध सुरक्षा निकायले गरेको घातक दमनका घटनामा मानवताविरुद्धको अपराधका अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको थियो ।
कमलको वर्तमान अवस्थाबारे स्पष्ट जानकारी सार्वजनिक नभए पनि बङ्गलादेशले उनी पनि भारतमै रहेको दाबी दोहोर्याउँदै आएको छ ।
बङ्गलादेशको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'भारत सरकारलाई हामी आग्रह गर्दछौँ कि दुवै दोषीलाई कुनै ढिलाइ नगरी बङ्गलादेशी अधिकारीहरूलाई सुपुर्द गरियोस्।'
विज्ञप्तिमा भनिएको छ, 'यी दोषीहरूलाई शरण दिनु अमैत्रीपूर्ण कदम मात्र नभई न्यायको अपमान पनि हुनेछ।' यसबीच, भारतीय विदेश मन्त्रालयले ढाकाबाट आएको फैसलालाई ध्यानपूर्वक हेरिरहेको बताएको छ।