काठमाडौं । आगजनीले जलेको च्यासलस्थित नेकपा एमाले केन्द्रीय कार्यालय अहिले पुनः नियमित रूपमा सञ्चालनमा ल्याइएको छ ।
गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा प्रदर्शनकारीले कार्यालयमा आगजनी गर्दा कागजातदेखि फर्निचरसम्म खरानी बनेका थिए । तर, त्यो खरानीबाट एमालेले पुनः आफ्नो संगठनात्मक कार्यलाई उठाउने हिम्मत देखाएको हो ।
अब सोही स्थानमा पाल टाँगेर पार्टीले अस्थायी रूपमा कार्यालय सञ्चालन थालेको छ । खुलेआकाशमुनि राखिएका टेबल–कुर्सी र टेन्टबीचबाटै बैठक, पत्राचार र निर्णय प्रक्रिया जारी छन् ।
‘कार्यालय जलेको छ, तर हाम्रो संगठनात्मक उत्साह र प्रतिबद्धता अझ बलियो बनेको छ,’ एमालेका उपमहासचिव विष्णु रिमालले भने, ‘अस्थायी पालमुनिबाटै पार्टीको नियमित काम चलिरहेको छ।’
रिमालका अनुसार आगजनीबाट जलेका अभिलेख र भौतिक सम्पत्तिको पुनर्संरचना कार्य पनि सुरु गरिएको छ ।