काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले नेताहरूले पार्टी छाड्नुको कारण खोज्नुपर्ने बताएका छन् ।
पार्टीका सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेको सन्दर्भमा सामाजिक सञ्जालमार्फत उनले यस्तो भनेका हुन् ।
उनले लेखेका छन- 'समस्या छन्, समाधान खोजौँ । जानेलाई लगाउने आरोप हैन, छोड्नुको कारण खोजौँ । सामूहिक प्रयास, सामूहिक निर्णयको अभ्यास गरौँ । सन्तोषले दोस्रो पटक समानुपातिकमा बस्न नपाउने भए पछि छोड्यो भन्ने होला अब । अस्ति सुमना ले छोड्दा त त्यस्तो नियम बनाएकै थिएन त, किन छोडिन् ? ‘सांसद नै नभएका केन्द्रीय सदस्य डा। प्रभात र हरिले छोडे । तिनले के नपाएर छोडे ? अब प्रत्यक्ष जितेकाले पनि छोड्लान्, तिनलाई के भन्ने ?'
यसअघि रास्वपा केन्द्रीय सदस्य सुमना श्रेष्ठले पार्टी छाडेकी थिइन् ।
पछिल्लो समय रास्वपाका नेतृत्व परिवर्तनको बहसमा परियार पनि थिए । यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग समेत राखेका थिए ।
आजै पार्टी परित्याग गरेका परियार जनार्दन शर्मा, घनश्याम भुसाल, नेत्रविक्रम चन्द विप्लव, मानुषी यमी लगायतसँग संवादमा रहेको रास्वपा स्रोतले बताएको छ ।