चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले विकास निर्माणका काममा प्राथमिकता नदिने ठेकेदारसँग सरकारले अब कडा कदम चाल्ने बताएका छन् ।
उद्योग वाणिज्य संघले आज चितवनमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले तीन हजारभन्दा बढी सडक र पुलमा ठेक्का लागे पनि कतिपय ठेकेदार काममा सक्रिय नभएको जानकारी दिएका हुन् ।
मन्त्री घिसिङले भने- 'तीन हजारभन्दा बढी सडक र पुलको ठेक्का छ, कुनै ठाउँमा त ठेकेदार कहाँ छ भन्ने पनि थाहा छैन । काम गर्नुपर्छ नभए ठेक्का तोड्ने अवस्था छ ।'
उनले जनताको पीडा कम गर्न सरकार आवश्यक काममा जोड दिने बताए । साथै, विकास निर्माणसँगै नीति निर्माणमा पनि परिवर्तन गर्न सरकारले कदम चालिरहेको उल्लेख गरे ।
उनले सप्तगण्डकी नदीमा जलाशय निर्माण गरी विद्युत् उत्पादन र पर्यटन विकासको योजना रहेको बताए । पोखरा, भरतपुर र लुम्बिनी क्षेत्रलाई इलेक्ट्रिक ग्रिन करिडोरका रूपमा विकास गर्ने काम अघि बढिरहेको बताए ।
त्यस्तै, शक्तिखोर औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउने र औद्योगिक क्षेत्र स्थापना सकारात्मक रहेको बताए ।