काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्ने शक्तिहरूलाई आगामी निर्वाचनमार्फत पराजित गर्नुपर्ने बताएका छन् ।
उनले संविधान, लोकतन्त्र र राष्ट्रिय संस्थामाथि प्रहार गर्ने समूहहरूलाई जनताको मतबाट परास्त गर्नुपर्नेमा जोड दिए ।
आइतबार काभ्रेपलाञ्चोकमा आयोजित नेसनल भोलेन्टियर फोर्सको कार्यक्रममा बोल्दै सचिव बस्नेतले ‘सिंहदरबार जलाउनेहरूलाई सिंहदरबार बनाउनेहरूले लखेट्नुपर्छ’ भन्दै कडा र आक्रामक अभिव्यक्ति दिए।
उनले फागुन २१ गते तोकिएको निर्वाचन हुने वा नहुने विषयमा अझै अन्योल कायम रहेको उल्लेख गर्दै वर्तमान राजनीतिक अवस्थाले देश र जनताको भविष्य नै संकटमा पारेको दाबी गरे।
भदौ २३ र २४ का घटनापछि नेपाल गम्भीर मोडमा पुगेको र त्यसले व्यापक आशङ्का तथा द्विविधा सिर्जना गरेको उनको भनाइ थियो।
एमालेको आधिकारिक निष्कर्ष सार्वजनिक गर्दै बस्नेतले तोकिएको मितिमा निर्वाचन हुने अवस्था नरहेको स्पष्ट पारे ।