काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी चुनावमा काठमाडौंबाट एमालेले कम्तीमा १० सिट जित्ने दाबी गरेका छन् ।
प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उनले उपत्यकाका सबै सिट जित्नेगरी तयारी गरेपनि १० सिट जित्ने दाबी गरेका हुन् ।
अघिल्लो निर्वाचनमा पाँच दलिय गठबन्धन र स्वतन्त्रप्रतिको क्रेजको कारण दुई सिटमा खुम्चिनुपरेको तर यसपटक मतदाताहरुले एमाले नै ठिक रहेको भन्ने निष्कर्षमा पुगेको उनको दाबी छ ।
उनले भने- 'यहाँ कतिपय घुमन्ते साथीहरु आएर भोट किनबेच हुन्छ भन्ने आरोप लगाउने गरेका छन् । त्यो चाँही हामी उपत्यकाबासीहरुलाई गिज्याईरहेको कुरा हो । सबैभन्दा धेरै बौद्धिक वर्ग र शिक्षित वर्ग यहाँ छन् । त्यसकारण उनीहरुको भोट परिवर्तित छ । अघिल्लो पटक स्वतन्त्र पार्टीले उपत्यकाका मात्रै सिट ल्याएको थियो । त्यो भोगाईबाट यसपाली चाँही एमाले नै ठिक हो भन्ने ठाउँमा उपत्यकाका बासी पुगेका छन् । अघिल्लो पटक पाँच दलिय गठबन्धन बनेको कारणले बालेन र रवीजीहरुको स्वतन्त्रको क्रेज भएकोमा अवस्थामा हामीले दुई सीट मात्रै जितेका हौँ । यसपाली उपत्यकाका १५ सीट एमालेको सुनिश्चित भन्ने नारा त दिएका छौँ तर कमसेकम १० सीट हामी जित्छौँ।'
सचिव बस्नेतले केही घुमन्ते उम्मेद्वारहरुले भोट किनबेचको आरोप लगाउने गरेकोप्रति आपत्ति जनाउँदै उपत्यकामा देशकै सबैभन्दा धेरै बौद्धिक र शिक्षित वर्ग बसोवास गर्ने बताए ।