Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

होलीले सांस्कृतिक विविधताका साथै राष्ट्रिय एकताको सन्देश पनि दिन्छ : सभापति थापा

होलीले सांस्कृतिक विविधताका साथै राष्ट्रिय एकताको सन्देश पनि दिन्छ : सभापति थापा

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङ्गहरूको उत्सवका रूपमा मनाइने फागुपूर्णिमा (होली) ले हाम्रो समाजको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई उजागर मात्र नगरेर राष्ट्रिय एकताको सन्देश पनि दिने उल्लेख गरेका छन्।

होलीको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उनले नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वमध्ये फागुपूर्णिमा आपसी प्रेम र एकताको एक विशिष्ट पर्व भएको बताएका छन्।

नेपालका सबै भूगोल, जातजाति, भाषा, धर्म, चाड, पर्व, कला, संस्कृति, परम्परा र रीतिरिवाजको विविधता नै नेपालको सुन्दर र विशिष्ट पहिचान हो। नेपालको हिमाली र पहाडी क्षेत्रमा फागुन १८ गते तथा तराईमा फागुन १९ गते अत्यन्त उत्साहका साथ एक–अर्कालाई रङ लगाई खुसी साटासाट गर्दै यो पर्व मनाइन्छ।

सभापति थापाले विविध रङ्गहरूजस्तै हाम्रो समाज पनि विविधतापूर्ण रहेको र यही विविधताबीचको एकता नै नेपालीको विशिष्ट पहिचान भएको उल्लेख गरेका छन्। उनले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिने यो पर्वले पारिवारिक स्नेह, आपसी मेलमिलाप, सहिष्णुता र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन सबैलाई प्रेरणा प्रदान गर्ने बताएका छन्।

'यसपटक फागुपूर्णिमासँगै हामी प्रतिनिधिसभा सदस्य निर्वाचन लोकतान्त्रिक अभ्यासको एक महत्वपूर्ण उत्सवको सम्मुखमा छौँ। निर्वाचन सफल, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न हुनेछ भन्ने विश्वास लिएको छु। लोकतन्त्रलाई संस्थागत गर्न र समुन्नत राष्ट्र निर्माणका लागि फागुन २१ को निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो मत प्रकट गर्न सम्पूर्ण नेपालीमा अपिल गर्दछु', सभापति थापाले उल्लेख गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077