सुनसरी । आफ्नै बुवाको कुटपिटबाट मृत्यु भएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका–१७ का ३८ वर्षीय देवेन्द्र कुलुङलाई मंगलबार इटहरी उपमहानगरपालिका–९ स्थित ट्याङ्ग्रा खोला नजिकबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बाबु राईका अनुसार कुलुङले २०७५ साल साउन २९ गते आफ्नै बुवा हरि शंकर राईलाई कुटपिट गरेका थिए। उक्त कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा २०७५ भदौ ४ गते मृत्यु भएको थियो ।
घटनापछि कुलुङ फरार रहेका थिए। बुवाको मृत्यु भएपछि उनीविरुद्ध ज्यानसम्बन्धी मुद्दा दर्ता भई प्रहरीको खोजी सूचीमा रहेका थिए। लामो समयसम्म खोजी अभियान जारी राखेपछि प्रहरीले उनलाई अन्ततः पक्राउ गर्न सफल भएको डीएसपी राईले बताए।
पक्राउ परेका कुलुङलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।