काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ग्वार्कोमा जारी अभिमुखीकरण कार्यक्रममा पुगेका छन्।
रास्वपाले नवनिर्वाचित सांसदहरूका लागि हिजोदेखि ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना गरेको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा सहभागि हुन केहीबेर लामिछाने अघि त्यहाँ पुगेका हुन्।
स्वास्थ्य अवस्थाका कारण हिजो उपस्थित हुन नसकेका पार्टी सभापति लामिछानेले आज अभिमुखीकरण कार्यक्रमको समापन मन्तव्य राख्ने कार्यतालिका तय भएको थियो । उनी सोही कार्यतालिकाका लागि त्यहाँ पुगेका हुन् ।
वरिष्ठ नेता बालेन्द्र (बालेन) साह पार्टीका सांसदहरूको अभिमुखिकरण तथा परिचयात्मक कार्यक्रममा स्वास्थ्य असहजताका कारण सहभागी नहुने भएका छन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको थियो।
रास्वपाले मंगलबारदेखि आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिइरहेको छ।
अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्य प्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतमा प्रशिक्षित दिइने जनाइएको छ ।
कार्यक्रममा नवनिर्वाचित प्रत्यक्ष तथा समानुपातिकतर्फका सांसदहरू सहभागी रहेका छन् ।