कञ्चनपुर । दोधाराचाँदनी नगरपालिका मा भएको जघन्य हत्याकाण्डका मुख्य आरोपीलाई नेपाल प्रहरीले भारतबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वडा नम्बर ४ सुर्खेती टोलका करिब ५५ वर्षीय हरिप्रसाद श्रेष्ठले आफ्नै ७५ वर्षीया सौतेनी आमा बिन्द्रा श्रेष्ठको खुकुरी प्रहार गरी हत्या गरेका थिए । सोही घटनामा ५० वर्षीया भगवतीदेवी माझी गम्भीर घाइते भएकी छन् ।
घटनापछि फरार रहेका श्रेष्ठलाई नेपाल प्रहरी र भारतीय सुरक्षाकर्मीको संयुक्त समन्वयमा बरेलीमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाही ले जानकारी दिए । पक्राउपछि उनलाई कानुनी प्रक्रिया अनुसार नेपाल ल्याइएको छ ।
घाइते माझीको प्रारम्भिक उपचार महाकाली प्रादेशिक अस्पतालमा गरिएको थियो । तर स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई थप उपचारका लागि भारतको भोजिपुरा लगिएको बताइएको छ ।
प्रहरीका अनुसार पुरानो जग्गा–जमिन विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।