काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रा अवैध रूपमा बाहिर लैजान खोजेको आरोपमा तीन जना नेपाली नागरिक पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका–१ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया सङ्गीता लामा र सिन्धुपाल्चोक लिशङ्खुपाखर गाउँपालिका–७ का ४७ वर्षीय विनोद लामा रहेका छन् ।
उनीहरू चीनको ग्वाङझाउ जान लागेका थिए । चाइना साउथेन एयरलाइन्सको उडान नम्बर CZ 6068 मार्फत प्रस्थान गर्ने क्रममा अन्तर्राष्ट्रिय प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्दा उनीहरूबाट ठूलो रकम बरामद गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार अनिता लामाबाट १० हजार अमेरिकी डलर, सङ्गीता लामाबाट १० हजार अमेरिकी डलर र विनोद लामाबाट ८ हजार ९०० अमेरिकी डलर गरी कुल २८ हजार ९०० अमेरिकी डलर फेला परेको हो ।
शरीर खानतलासी तथा ब्यागेज स्क्रिनिङका क्रममा उक्त रकम बाह्य मुलुकतर्फ लैजान खोजिएको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुरमा बुझाइएको छ।