काठमाडौं । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि सकारात्मक वार्ता भइरहेको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेको छ।
बीबीसीका अनुसार इरानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिका–इरानबीच कुनै प्रकारको वार्ता नभएको जनाएको हो । 'अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको वार्तासम्बन्धी दाबी अस्वीकार्य छ,' विज्ञप्तिमा उल्लेख गरिएको छ।
इरानले आफ्नो धारणा स्पष्ट पार्दै युद्धसँग सम्बन्धित लक्ष्य प्राप्त नभएसम्म कुनै पनि वार्तामा नबस्ने अडान दोहोर्याएको छ।
बीबीसीका अनुसार इरानी समाचार एजेन्सी फार्सले पनि उच्च स्रोतलाई उद्धृत गर्दै ट्रम्पसँग कुनै प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क नभएको दाबी गरेको छ।
स्रोतका अनुसार अमेरिकाले इरानका ऊर्जा संरचनामाथि आक्रमण गर्ने चेतावनी दिएपछि परिस्थिति थप जटिल बनेको हो।
यसअघि ट्रम्पले भने पछिल्ला दुई दिनमा अमेरिका र इरानबीच “धेरै राम्रो र सकारात्मक” वार्ता भएको दाबी गरेका थिए।
उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानका विद्युत् केन्द्र तथा ऊर्जा पूर्वाधारमाथि हुने सम्भावित सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गरिएको जानकारी दिएका थिए।