नेपालगन्ज । बाँकेमा नेकपा एमालेका कार्यकर्ताले गृहमन्त्री सुधन गुरुङको पुत्ला जलाएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा बाँकेको नेपालगन्जमा जनवर्गीय संगठनले आयोजना गरेको विरोध कार्यक्रममा गृहमन्त्री गुरुङको पुत्ला जलाइएको हो।
पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट निस्केको विरोध र्यालीले वीपीचोकमा पुगेर गृहमन्त्रीको पुत्ला दहन गरेको थियो।
एमालेका नेता तथा कार्यकर्ता, युवा-विद्यार्थी संगठनमा आवद्वहरु सम्मिलित विरोध कार्यक्रममा सरकार, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्व नाराबाजी गरिएको थियो सो क्रममा टायरसमेत बालेका थिए।
गृहमन्त्रीको पुत्ला दहन र बालेको टायर निभाउन आएका प्रहरीसँग केहीबेर धकेलाधकेल भएको थियो।
यता नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।
यसैगरी जुम्लाको सिमिकोट, कञ्चनपुर, बुटवल र कैलाली लगायत देशभरी नै प्रदर्शन भइरहेको छ ।
गत २३ र २४ भदौमा जेनजेड आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो । त्यसबेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र काँग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले देशव्यापी प्रदर्शन शुरु गरेको छ ।