काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले नेपाली कांग्रेस, नेकपा एमालेलगायतका विपक्षी दललाई राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न एकजुट भएर संघर्ष गर्न आग्रह गरेका छन् ।
उनले यो लडाइँ छोटो नभई “लामो” हुन सक्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले विपक्षी शक्तिहरूलाई पहिले आफ्नै पार्टी बलियो बनाउन सुझाव दिएका छन्।
उनले पार्टीभित्र रहेका भ्रष्ट, अनैतिक र जनताबाट तिरस्कृत अनुहारहरूलाई हटाउनुपर्नेमा जोड दिएका छन्।
उनले लेखेका छन्, 'कांग्रेस, एमाले र अन्य प्रतिपक्षीहरू राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको लडाइँ एकसाथ लड्न तयार रहनु। योलडाइँ अलि लामो हुन सक्छ। त्यसैले पहिले आफ्नो घर बलियो बनाऊ—भ्रष्ट, अनैतिक र तिरस्कृत अनुहारहरूलाई बिदा गर।'
भट्टराईले वर्तमान राजनीतिक परिवेशमा बढ्दो पपुलिजमप्रति पनि चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार पपुलिजमको उत्कर्षमा न्यायालयप्रति अत्यधिक भरोसा गर्नु उपयुक्त नहुन सक्छ।
उनले चेतावनी दिँदै भनेका छन्, 'पपुलिजमको उत्कर्षमा नागरिक हक, प्रेस स्वतन्त्रता र प्रजातन्त्रको स्पेस संकुचित हुन्छ भन्ने हेक्काराख्नुपर्छ।'