काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका विवादमा परेका दुई सांसदका विषयमा तत्काल कारबाही नगर्ने संकेत दिएका छन् ।
सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सांसदद्वय खगेन्द्र सुनार र विश्वराज पोखरेलका अभिव्यक्ति र कार्यशैलीबारे पार्टीको अनुशासन आयोगले अध्ययन गरिरहेको जानकारी दिए ।
सभापति लामिछानेका अनुसार दुवै घटनाबारे आफूले सञ्चारमाध्यममार्फत जानकारी पाएका हुन् ।
हिरासतमा एक दलित युवकको मृत्यु प्रकरणमा प्रहरीमाथि आरोप लगाउँदै एसपीलाई घिसार्ने सार्वजनिक चेतावनी दिएका सांसद सुनारको अभिव्यक्तिलाई उनले आंशिक रूपमा बचाउ गरे ।
'वर्षौंदेखि प्रताडित समुदायको आवाज केही चर्को हुनु स्वाभाविक हो, त्यसलाई झर्को मान्न मिल्दैन,' लामिछानेले भने, 'उहाँहरूको पीडाको अभिव्यक्ति सुन्नुपर्छ।'
तर, उनले सबैका लागि मर्यादा अनिवार्य हुने उल्लेख गर्दै उक्त विषयमा समीक्षा आवश्यक रहेको पनि स्पष्ट पारे।यता, आफ्नो निर्वाचन क्षेत्रको एक विद्यालयमा प्रधानाध्यापकलाई थर्काएको आरोपमा आलोचित सांसद पोखरेललाई भने उनले सचेत गराएका छन्।
उक्त घटनाको भिडियो सार्वजनिक भएपछि पोखरेलले सार्वजनिक रूपमा माफी मागिसकेका छन्। माफीपछि परिस्थिति केही सहज बनेको बताउँदै लामिछानेले रास्वपाका नेताहरू शासक नभई सेवक हुनुपर्ने धारणा राखे।
'जसलाई मालिक हुन छ, त्यो रास्वपामा होइन,' उनले भने, 'हामी सेवक हौं, यही भावना सबैले बुझ्नुपर्छ।'