काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्ने प्रधानमन्त्रीको निर्णय गैरजिम्मेवार भएको टिप्पणी गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को उक्त निर्णय गैरजिम्मेवारी भन्दै टिप्पणी गरेको हो ।
अहिलेसम्म अभ्यासमा नै नआएको सो कुरा प्रधानमन्त्री शाहले गर्न खोज्नु गैरजिम्मेवार र उत्तरदायित्व बोधको कमीको रुपमा पार्टी संसदीय दलका लिएको प्रमुख सचेतक बासना थापाले बताइन् ।
थापाले भनिन्- 'यदि प्रधानमन्त्री स्वास्थ्य, विदेश भ्रमण वा अन्य व्यस्तताका कारण उपस्थित हुन नसक्ने अवस्था थियो भने त्यसको स्पष्ट जानकारी दिनुपर्थ्यो।'
कांग्रेसले प्रधानमन्त्रीको अनुपस्थितिलाई जनताप्रतिको उत्तरदायित्व र संवैधानिक जिम्मेवारीप्रति प्रश्न उठ्ने विषयका रूपमा लिएको जनाएको छ।
यसैगरी बैठकमा आगामी जेठ १५ गते प्रस्तुत हुने आर्थिक वर्षको बजेट, संसदमा पार्टीको भूमिका तथा आगामी रणनीतिबारे पनि छलफल भएको जनाइएको छ।
साथै, संसदीय दलभित्र रिक्त पदपूर्ति र संसदीय समितिका संयोजक चयनबारे पनि चर्चा भएको काँग्रेसले जनाएको छ।