काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदमा संख्याभन्दा विचार महत्वपूर्ण हुने बताएका छन् ।
शनिबार नेपाल थारु संघको अधिवेशनलाई सम्बोधन गर्दै उनले संसदमा कांग्रेसको संख्या कम भए पनि जनसरोकारका मुद्दा उठाउने जिम्मेवारीमा कुनै कमी नहुने स्पष्ट पारेका हुन् ।
उनले संख्याको बलमा मात्रै लोकतन्त्र सञ्चालन हुन नसक्ने भन्दै संसदमा विचार र बहसको भूमिका निर्णायक हुने धारणा राखे ।
'अनुभवका हिसाबले हामी कमजोर हुन सक्छौं, तर पार्टी र संसदबीचको समन्वयबाट संसदभित्रका समस्याको समाधान खोजिरहेका छौँ,' उनले भने ।
पार्टी र संसदलाई अलग-अलग ढंगले हेर्ने प्रवृत्ति अन्त्य गर्दै दुवैलाई एउटै सोच र समन्वयमा अघि बढाइएको उनको भनाइ थियो ।
उनले कांग्रेसभित्र विगतमा संसद र पार्टीबीच दूरी बढाउने र संगठनलाई कमजोर बनाउने प्रवृत्ति देखिएको भए पनि अहिले त्यसलाई अन्त्य गर्दै सहकार्यको वातावरण निर्माण गरिएको दाबी गरे ।
साथै, संख्याको आधारमा मात्र लोकतान्त्रिक मूल्य कमजोर पार्ने प्रवृत्तिविरुद्ध कांग्रेसले निरन्तर आवाज उठाइरहेको उनले बताए ।