काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कुनै पनि अर्थमा तुलना हुन नसक्ने बताएका छन् ।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले प्रधानमन्त्री बालेनको कार्यशैली लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको आरोप लगाउँदै उनलाई अधिनायकवादी र निरंकुश प्रवृत्तिको नेता भएको टिप्पणी गरे। उनले ओलीलाई भने लोकतन्त्रका लागि लामो संघर्ष गरेका अनुभवी राष्ट्रवादी नेताका रूपमा चित्रण गरे।
बस्नेतका अनुसार अध्यक्ष ओलीले लोकतन्त्र र राजनीतिक परिवर्तनका लागि १४ वर्ष जेल जीवन बिताएका छन् भने प्रधानमन्त्री बालेनले लोकतान्त्रिक प्रणालीभन्दा व्यक्तिगत निर्णय र शक्ति केन्द्रित शासन शैली अपनाएको आरोप लगाए। उनले भने, 'ओली र बालेनबीच तुलना हुनै सक्दैन। एक जना लोकतान्त्रिक आन्दोलनका अनुभवी नेता हुन् भने अर्को लोकतन्त्रविरोधी र निरंकुश प्रवृत्तिका शासक हुन्।'
प्रधानमन्त्री बालेनको नेतृत्वमा मुलुकमा महँगी बढेको, दैनिक उपभोग्य वस्तु तथा हवाई यातायातको खर्च अत्यधिक वृद्धि भएको दाबी गर्दै बस्नेतले सरकारले जनताको जीवन सहज बनाउन नसकेको आरोप लगाए।
उनले गरिब र मध्यमवर्गीय नागरिकको हितभन्दा दलाल नोकरशाही र पुँजीपति वर्गलाई प्राथमिकता दिइएको आरोप समेत लगाए।
उनले हालैको बजेटमा ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत भ्याट लगाउने व्यवस्था गरिएको उल्लेख गर्दै यसलाई “गरिबमारा नीति” को संज्ञा दिए। विकास निर्माण, रोजगारी र जनजीविकाका सवालमा सरकारले अपेक्षित काम गर्न नसकेको उनको भनाइ थियो।