Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • अपराधमा एम्बुलेन्सको प्रयोग – बिरामी बोक्दैनन्, गाँजा ओसार्छन्

    अपराधमा एम्बुलेन्सको प्रयोग – बिरामी बोक्दैनन्, गाँजा ओसार्छन्

    अनलाइन नेपाल
  • बिहिबार, ३ असार २०७८
  • 2.6K
    SHARES

    विराटनगर। नेपाल–भारत सीमाअन्तर्गत सुनसरीको कोसी गाउँपालिका–८ मा गत जेठ १६ गते बिहान २ बजेतिर १ सय ६७ किलो लागूऔषध गाँजा फेला पर्‍यो। छ वटा प्लास्टिकमा अलगअलग पोको पारिएको गाँजा ‘रिसिभ’ गर्न गएको अवस्थामा कोसी–८ का ४० वर्षीय गणेश यादवलाई सुनसरी प्रहरीले पक्राउ गर्‍यो।

    अनुसन्धानबाट धनकुटाको हिलेस्थित जनप्रगति बचत तथा ऋण सहकारी संस्थाको नाममा सञ्चालन गरिएको को १ च ६८८० नम्बरको एम्बुलेन्सले गाँजा त्यहाँ छाडिदिएको खुल्यो।



    एम्बुलेन्स र गाँजा कारोबारीको खोजीमा जुटेको प्रहरीले जेठ २६ गते एम्बुलेन्स र चालक सुशन राईलाई पक्राउ गर्‍यो। प्रहरी आएको चाल पाएर हत्तपत्त गाँजा झारिदिएर एम्बुलेन्स लिँदै उनी फरार भएको खुलेको छ।



    प्रहरीले यादव र राईविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान गरिरहेको छ। एम्बुलेन्ससँग ‘सेटिङ’ मिलाएर नेपालबाट भारततर्फ गाँजाको तस्करी गर्ने धन्दामा यादवको संलग्नता देखिएको र एम्बुलेन्स चालक राईले उनलाई सहयोग गरिरहेको पाइएको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले बताए। ‘गाँजा र मानिस पक्राउ परिहाले भनेर त्यत्तिकै छाडिदिएको भए ‘खतरनाक’ खेल थाहा हुने थिएन,’ एसपी थापा भन्छन्, ‘वास्तविकता पत्ता लगाउँदै जाँदा मानवीय सेवामा आकस्मिक खटिनुपर्ने एम्बुलेन्स लागूऔषधको डरलाग्दो धन्दामा प्रयोग भइरहेको पाइयो।’

    हुडेप नेपाल नामक संस्थाको नाममा सञ्चालन भइरहेको को १ च ५५५७ नम्बरको एम्बुलेन्सलाई जेठ १० गते एक सय किलो गाँजासहित धरान–२ बाट प्रहरीले नियन्त्रणमा लियो। बिरामी बोक्न अस्वीकार गरेको एम्बुलेन्स गाँजा लिएर धनकुटाबाट नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगरको रानी नाकातिर आउँदै गरेको पुष्टि भएको प्रहरीले जनायो।
    चालक धरान–१५ का ३६ वर्षीय बलबहादुर लिम्बू र एम्बुलेन्समै सवार धनकुटाको सहिदभूमि घर भई धरान–११ मा बस्ने २८ वर्षीय पोषण राईलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गर्‍यो। गाँजाको ओसारपसारमा एम्बुलेन्सको प्रयोग गरेका उनीहरूविरुद्ध लागूऔषध मुद्दामै प्रहरीले अनुसन्धान गरिरहेको छ।

    महेन्द्रनगर क्षेत्रबाट गाँजा ओसारपसार भइरहेको सूचना जेठ २६ गते आएपछि एसपी थापाले को १ च ३३२ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिन टोली परिचालन गरे। तर, प्रहरीलाई छलेर एम्बुलेन्स भाग्न सफल भयो। भोलिपल्ट इनरुवा नगरपालिका–२ नहर चोकनजिक बेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो। ‘लक’ गरेर ढोका र झ्याल बन्द गरिएको एम्बुलेन्समा चालक वा एम्बुलेन्ससँग सम्बन्धित कोही पनि भेटिएनन्।

    रेडक्रसको चिन्ह मात्रै राखेर चलाइएको उक्त एम्बुलेन्स कुन संस्थाका नाममा कहाँबाट र कसरी सञ्चालन भइरहेको थियो भन्ने खुल्न सकेको छैन। दाबी गर्न कोही नआएको एम्बुलेन्सका चालक वा सम्बन्धित कसैको सम्पर्क नम्बर पनि छैन।

    यातायात व्यवस्था कार्यालय इटहरीले उक्त नम्बर प्लेटको एम्बुलेन्स कसैको नाममा दर्ता नभएको जानकारी प्रहरीलाई दिइसकेको छ। इन्जिन र चेसिस नम्बरका आधारमा एम्बुलेन्स सञ्चालन गर्ने संस्था र चालकको पहिचानको प्रयास प्रहरीले गरिरहेको छ। अपराधमा प्रयोग गर्नकै लागि अरू नै सवारीलाई ‘एम्बुलेन्स लेखेर’ चलाइएको हुनसक्ने एसपी थापा बताउँछन्।

    पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–३ स्थित सुनसरी खोलानजिक गत वैशाख १२ गते बिहान झिसमिसेमै रोकिएको एउटा एम्बुलेन्सबाट बिरामीजस्ता देखिने दुई महिला झरेर झाडीतिर गए। फर्किएर उनीहरू चढेपछि एम्बुलेन्स त्यहाँदेखि हुइँकियो।

    केहीबेरमै बच्चा रोइरहेको आवाज आयो। हेर्न गएका स्थानीयले झाडीमा सालनालसहितको नवजात शिशु (छोरी)लाई फेला पारेपछि प्रहरीलाई खवर गरे। एम्बुलेन्समै ल्याइएको शिशुलाई महिलाले झाडीमा फ्यालेको हुनसक्ने स्थानीयले प्रहरीलाई बताए।

    शिशुको जीवितै उद्धार गरे पनि एम्बुलेन्सकै खोजीमा अहिले प्रहरी केन्द्रित छ। ‘बिरामी बोकेर ओहोरदोहोर गरिरहने भएकाले कसैले चासो नदिँदा एम्बुलेन्सको पहिचान खुल्न सकेको छैन,’ एसपी थापाले भने, ‘जीवितै शिशु भेटिएको समय आसपास राजमार्गमा गुडेका एम्बुलेन्सको रेकर्ड निकालेर खोजी जारी राखेका छौं।’ उनका अनुसार बाबु–आमाको पहिचान हुन नसकेको बच्चा अवैध सम्बन्धबाट जन्मिएपछि एम्बुलेन्समा ल्याएर झाँडीमा फ्यालेको हुनसक्छ।

    माथि उल्लेख गरिएका विवरणबाट मावन जीवन रक्षाका लागि अति नै आवश्यक सवारी साधनभित्र पर्ने एम्बुलेन्स अपराध एवं अवैध धन्दामा प्रयोग भइरहेको पुष्टि हुन्छ।
    कोरोना भाइरस महामारीले यतिबेला मुलुक आक्रान्त बनेको छ। अस्पतालसम्म पुग्ने एम्बुलेन्स समयमै पाउन नसक्दा गम्भीर अवस्थाका कोरोना संक्रमित मृत्युवरण गर्न बाध्य छन्। भन्सार छुटमा सहजै ल्याउन सकिने र सडकमा बिना अवरोध निर्वाध गुड्ने एम्बुलेन्स भने अपराधमा प्रयोग भइरहेको पाइएको एसपी थापाले बताए।
    उनका अनुसार मानवीय सेवा छाडेर तस्करीका सामग्री, लागूऔषध एवं अवैध सामान तथा भाडाका यात्रु ओसार्ने धन्दामा एम्बुलेन्सजस्तो संवेदनशील सवारीको दुरुपयोग भइरहेको पाइयो। एम्बुलेन्सबाट हुने अपराध रोक्न प्रहरीले निगरानी बढाएको जानकारी एसपी थापाले दिए।

    एम्बुलेन्स सञ्चालन निर्देशिका २०७७ ले बिरामी बोक्नबाहेक अरूमा एम्बुलेन्सको प्रयोगलाई रोकेको छ। जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको मुनाफारहित सामाजिक संस्था, प्रतिष्ठान, ट्रष्ट, विभिन्न निकाय र अस्पतालले यातायात कार्यालयमा दर्ता गरेर एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था निर्देशिकाले गरेको छ।

    संयुक्त एम्बुलेन्स चालक संघ प्रदेश १ का अध्यक्ष चन्द्र पराजुलीका अनुसार मानवीय सेवामै समर्पित हुनुपर्ने भएकाले ९९ प्रतिशत भन्सार छुटमा एम्बुलेन्स ल्याउने व्यवस्था सरकारले मिलाई दिएको छ। उनले सरकारले दिएको भन्सार छुटको सुविधा र सञ्चालन गर्ने संस्थाको नाम तथा चालकको सम्पर्क नम्बर स्पष्टसँग उल्लेख गरेर तथा अक्सिजन सिलिन्डरदेखि स्ट्रेचरसम्मको व्यवस्था गरेर मात्रै एम्बुलेन्स सञ्चालन गर्न पाइने बताए।

    संघका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले समयमै अस्पताल पुर्‍याएर बिरामी बचाउन प्रयोग हुनुपर्ने एम्बुलेन्सलाई मानवीय सेवा भुल्दै नियम कानुनविपरीत अपराधमा प्रयोग गर्न थालिएकोमा चिन्ता व्यक्त गरे। पराजुलीका अनुसार एम्बुलेन्सलाई सरकारबाट नियमित निगरानी एवं अनुगमन र जनचेतना नै छैन। दक्ष र अनुभवी चालकको अभाव छ।
    साइरन बजाउँदै सडकमा कुदेपछि कसैले वास्ता नगर्दा पैसा कमाउने लोभमा परेर एम्बुलेन्स अपराधमा प्रयोग हुन थालेको पराजुलीले बताए। उनका अनुसार गम्भीर अवस्थाका बिरामी बोक्दाबाहेक साइरन बजाएमा ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही हुन्छ। साइरन बजाउँदै हुइँकिने एम्बुलेन्स अपराधमा प्रयोग भइरहेको हुनसक्नेतर्फ ध्यान दिन जरुरी रहेको उनले बताए।

    उनका अनुसार सञ्चालकले निगरानी बढाएर बोकेका बिरामीको रेकर्ड राखिदिने हो भने एम्बुलेन्सको दुरुपयोग रोकिने थियो। प्रदेश १ मा रहेका ४ सय १७ वटा एम्बुलेन्समध्ये मोरङमा १ सय ३९ वटा, सुनसरीमा ९३ र झापामा १ सय १७ वटा एम्बुलेन्स सञ्चालनमा रहेको जानकारी पराजुलीले दिए।
    ‘दत्तचित्त भएर सेवामै खटिने एम्बुलेन्सको सहयोगले समयमा अस्पतालसम्म पुग्नसक्दा धेरैको ज्यान बचेको छ,’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का भन्छन्, ‘कतिपय भने गैरकानुनी धन्दा र अपराधमा प्रयोग भइरहेको पाइन्छ।’ एसपी खड्का निगरानी बढाएर अपराधमा प्रयोग गरिएकालाई कानुनी कारबाहीको विकल्प नभएको बताउँछन्।

    बन्द, हड्ताल, आकस्मिक अवस्था तथा विभिन्न अवरोधमा सहज रूपले सञ्चालन हुन पाउने भएकाले गलत नियत राख्ने र पैसा कमाएर चाँडै धनी हुन खोज्नेले एम्बुलेन्सलाई दुरुपयोग गरिरहेको उनको भनाइ छ। कतिपयले कोरोना संक्रमित लगायतका बिरामी बोक्न नमानेको र नियमविपरीत सञ्चालन भइरहेको सूचना आएकाले विशेष कारबाही थालिएको जानकारी खड्काले दिए।

    महामारीका समयमा बिरामीले एम्बुलेन्स पाउन गाह्रो भइरहेका बेला सडकमा निर्वाध सञ्चालनको अधिकार पाएको सवारी ठूला अपराधमा प्रयोग हुनु दुःखद् भएको नागरिक अगुवा केशव अधिकारी बताउँछन्। सहजतासँगै निगरानी एवं नियन्त्रणकै अभावमा एम्बुलेन्सको दुरुपयोग बढेको उनको भनाइ छ।
    प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले मानवीय सेवा छाडेर एम्बुलेन्सजस्तो अति नै संवेदनशील सवारी गैरकानुनी गतिविधिमा प्रयोग हुन थालेपछि कारबाही तीव्र पारिएको बताए।

    कार्कीका अनुसार पछिल्लो ट्रेन्ड र अनुसन्धानमा प्राप्त सफलताले एम्बुलेन्समा निगरानी बढाउन आवश्यक देखिएको छ। कोरोना महामारी सुरु भएयता मात्रै प्रदेश १ मा एक दर्जनभन्दा बढी एम्बुलेन्स अपराध एवं गैरकानुनी धन्दामा प्रयोग भएको रेकर्ड प्रहरीसँग छ। (अन्नपुर्ण पोष्ट दैनिकमा किशोर बुढाथोकीको लेख – साभार)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार