Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अवैध रूपमा ९० वटा एप्स चलाएर अर्बौं ठगी गर्दै एनसेल

    अवैध रूपमा ९० वटा एप्स चलाएर अर्बौं ठगी गर्दै एनसेल

    अनलाइन नेपाल
  • सोमबार, १४ भाद्र २०७८
  • 3.4K
    SHARES

    काठमाडौं। सरकारलाई अर्बौं कर बुझाउन आनाकानी गर्दै आएको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले सर्वसाधारण उपभोक्ताको जानकारी विना अनधिकृत रूपमा एप्स चलाएर पनि अर्बौं ठगी गरेको रहस्य खुलेको छ ।

    एनसेलले दुई वटा एप्स चलाउँदा एक अर्ब भन्दा बढी ठगी गरेको पाइएपछि नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही स्वरुप १ अर्ब ११ करोड रुपैयाँ सर्वसाधारणलाई फिर्ता गर्न निर्देशन दिएको थियो ।



    एनसेल आजियाटा लिमिटेडले सञ्चालन गरेको गेमलोफ्ट र हुवाये एप ग्यालरी नामका भ्यालु एडेड सर्भिस स्वचालित रिन्यु गरी सर्वसाधारणको रकम उनीहरूको स्वीकृति विना अनधिकृत रूपमा कटाएपछि प्राधिकरणले एनसेललाई स्पष्टीकरण सोधेको थियो।



    प्राधिकरणले २०७८ असार १७ गते स्पष्टीकरण सोधेको थियो। एनसेलले २०७८ असार ३१ गते प्राधिकरणमा बुझाएको स्पष्टीकरण पनि चित्तबुझ्दो नपाइएपछि प्राधिकरणका बोर्ड बैठकले एनसेल आजियाटालाई सर्वसाधरणको १ अर्ब ११ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको थियो ।

    तर, अहिले एनसेलले ९० वटा एप्स तथा गेमहरू सञ्चालन गर्दै आएको स्रोतको दावी छ । सर्वसाधारण उपभोक्ताको जानकारी विना नै अटो रिन्यू गरी सर्वसाधारणको मोबाइलको ब्यालेन्स निरन्तर कटाएर एनसेलले अर्बौँ ठगी गरिरहेको छ ।

    दुई वटा एप्स चलाउँदा एक अर्ब भन्दा बढी ठगी गर्ने एनसेलले अहिले ९० वटा एप्स तथा गेमहरू सञ्चालन गर्दा कति ठगी गरेको होला ? तर, यसबारे भने दूरसञ्चार प्राधिकरले कुनै कारबाही प्रक्रिया अगाडि बढाउन सकेको छैन ।

    प्राधिकरणमाथि अनुसन्धानको लागि दबाब परेपनि एनसेलमाथि कुनै कारबाही प्रक्रिया अगाडि बढाइएको छैन । टेलिकम क्षेत्रका जानकारहरूको एनसेलले अटो रिन्यू हुने यस्ता खालका एप्स चलाएर अर्बौं रकम ठगी गरिएको हुनसक्ने अनुमान छ।

    हुनत प्राधिकरणले कारबाहीको निर्णय गर्दा एनसेलका अन्य एप्स हरूबाट पनि के कति कमाइ गरेको हो सो को विवरण १५ दिनभित्र बुझाउन एनसेललाई निर्देशन दिएको थियो । यसप्रति सर्वसाधारण उपभोक्ताहरूको गुनासो आइरहे पनि प्राधिकरणले भने औपचारिक रूपमा अझै प्रस्ट पार्न सकेको छैन ।

    यसअघि सर्वसाधारण उपभोक्ताको मोबाइलबाट उनीहरूको स्वीकृति नै नदिई ठगी गरी रकम कटाएर लाभ लिएको एनसेललाई प्राधिकरणले अहिलेसम्मकै ठूलो कारबाही गरेको थियो। प्राधिकरणको बोर्ड बैठकले एनसेललाई सर्वसाधारणको ठगी गरेको रकम फिर्ता गर्न निर्देशन दिएको थियो ।

    प्राधिकरणको साउन ३२ गते बसेको बोर्ड बैठकले गरेको निर्णय भदौ ४ गते शुक्रवार प्रमाणीकरण गरेको थियो। सर्वसाधारण उपभोक्ताको ठगी भएको १ अर्ब ११ करोड भन्दा बढी रकम ३ महिनाभित्र उनीहरूको मोबाइलमा पठाउन निर्देशन प्राधिकरणको बोर्ड बैठकले गरेको थियो।

    ग्राहकको पहिचान नखुलेको अवस्थामा फिर्ता गर्नुपर्ने रकमलाई छुट्टै कोषमा जम्मा गरी प्राधिकरणलाई जानकारी गराउन पनि निर्देशनमा भनिएको थियो।

    प्रधिकरणले त्यतिबेला एनसेल आजियाटा लिमिटेडलाई गेमलोफ्ट र हुवाये एप ग्यालरी सहितका भ्यालु एडेड सर्भिस सञ्चालन गरी के कति रकम आर्जन गरेको हो सो को जानकारी १५ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको थियो । तर, आजसम्म पनि एनसेलले प्राधिकरणलाई जानकारी नगराएको स्रोतको दावी छ ।

    गेमलोफ्टले ११ करोड ३७ लाख ४८ हजार ९८६ रुपैयाँ र हुवावे एप ग्यालरीले ९९ करोड ९२ लाख १८ हजार ८६३ रुपैयाँ २०७५ असोज १५ देखि २०७७ जेठ १८ सम्म उपभोक्ताहरूको स्वीकृति नलिई एनसेलले ठगी गरी कमाइ गरेको थियो।

    अर्थमन्त्री जनार्दश शर्माले ठूला करदाता कार्यालयको प्रमुख हुँदा एनसेलको पूँजीगत लाभकर छलीमा मुछिएका शोभाकान्त पौडेललाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएसँगै एनसेललाई फेरि पनि राजश्व छली गर्न सहयोग पुग्ने जानकारहरु बताउँछन् ।

    पौडेल ठूला करदाता कार्यालयको प्रमुख छँदा एनसेलको ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छली प्रकरणमा मुछिएका थिए। त्यतिखेर पौडेलकै योजनामा एनसेलले लाभकर छलेको समाचार बाहिर आएको थियो । पौडेल एनसेल खरिद बिक्री गर्दा नेपाललाई प्राप्त हुने ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छलीका मुख्य योजनाकार चुडामणि शर्माका विश्वापात्र पनि मानिन्छन।

    स्रोतका अनुसार अर्थमन्त्री शर्मालाई एक बिचौलियाले एनसेलका सिइओ एन्डि चोङसँग भेटघाट गराइदिएपछि पौडेललाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाउन शर्मा राजी भएका थिए। पौडेललाई महाननिर्देशक बनाउनका लागि अर्थमन्त्री शर्माले एनसेलका सिइओ एन्डिमार्फत ठूलो आर्थिक लाभ लिएको अर्थ मन्त्रालय स्रोतको दाबी छ।

    पौडेल ठूला करदाता कार्यालयका प्रमुख भएको बेला एनसेलको लाभकर छली भएको थियो । एनसेलको लाभकर नतिरी टेलियासोनेरालाई नेपालबाट भगाउने भूमिका समेत पौडेल नै खेलेका थिए । चुडामणि शर्मा र पौडेलकै योजनामा ७२ अर्ब लाभकर छली गर्ने टेलियासोनेरालाई नेपालबाट भगाइएको थियो ।

    २०७२ चैत ३० मा टेलियासोनेरा सेयर किनबेचको सम्पूर्ण प्रक्रिया टुंग्याएर नेपालबाट बाहिरिएपछि मात्र ठूला करदाताका तत्कालीन प्रमुख पौडेलले एनसेललाई पूँजीगत लाभकर तिर्न पत्र लेखेका थिए ।

    १ सय ३० अर्ब रुपैयाँको उक्त सेयर किनबेचमा पूँजीगत लाभकर तिराउनुपर्ने कुरा पहिल्यै थाहा भएर पनि टेलियासोनेराले एजियटालाई बिक्री गरेर बाहिरिसकेपछि पत्र काटिएको थियो । लाभकर बिक्री गर्ने कम्पनीले तिर्ने हो, बिक्री गर्ने कम्पनी देशबाट बाहिरिसकेपछि पौडेलले पत्र काटेर असुली गर्ने हास्यास्पद काम गरेका थिए । टेलियासोनेराले सेयर बिक्रीबापत सबै रकम लिएको भोलिपल्ट ठूला करदाता कार्यालयले ‘आयकर ऐन २०५८ को दफा ९५ ‘क’ बमोजिम अग्रिम कर असुल गरी दाखिला गर्न’ एनसेललाई चिठी पठाएको थियो ।

    ठूला करदाता कार्यालयले जुन पत्र सेयर किनबेच प्रक्रिया टुंगिसकेपछि पठाएको थियो, त्यो एक साताअघि मात्र पठाएको भए स्थिति अर्कै हुनसक्थ्यो । किनबेच नटुंगिँदै अग्रिम करसम्बन्धी चिठी पाएको भए त्यसको समाधान नखोजी टेलियासोनेराले उन्मुक्ति पाउने थिएन । तर, चुडामणि शर्मा र शोभाकान्त पौडेलले टेलियासोनेरालाई भाग्ने अवसर दिएर त्यसपछि मात्र पत्र काटेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार