Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • झाँक्रीको मन्त्रालयमा यसरी हुन्छ सेटिङ, ओलीले भर्ना गरेका कर्मचारीहरुको मनपरी

    झाँक्रीको मन्त्रालयमा यसरी हुन्छ सेटिङ, ओलीले भर्ना गरेका कर्मचारीहरुको मनपरी

    अनलाइन नेपाल
  • मंगलबार, ३० कार्तिक २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादी स्थापनामा महत्वपूर्ण भूमिका खेलेकी सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको मन्त्रालयमा केपी ओलीलाई ‘आई लभ यू’ भन्नेहरुको बाहुल्यता छ । केपी ओलीले नियुक्ति गरेका उनीहरुले मन्त्री झाँक्रीलाई बद्नाम गर्न थालेका छन् । सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले मन्त्री झाँक्रीलाई थाहा पत्तै नदिइकन भवन विभागका ५० करोड भन्दा बढिका परामर्शदाता नियुक्तिमा आफ्नो सेटिङ भएका इआरएमसी र डिजीकोनलाई दिएको विषयमा मन्त्रीले छानविन गरिसकेकी छन् ।

    मन्त्री झाँक्रीलाई असफल पार्न भित्रभित्रै भूमिका खेलेको थाहा पाएपछि सचिव सिंहले निकटस्थहरुलाई महत्वपूर्ण ठाउँबाट हटाइएको छ । केपी ओलीले नियुक्ति गरेका सहरी विकास मन्त्रालय अन्तर्गतका नगर विकास कोष, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, आवास कम्पनी लिमिटेड र काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुखहरुलाई पनि हटाउनुपर्ने दबाब मन्त्री झाँक्री पुगेकी छन् ।



    नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले परामर्शदाता छनौटमा सेटिङ गरी आफ्ना निकट कन्सलटेन्सीलाई दिएर ४० प्रतिशत कमिसन खाने दाउ गरेका छन् । यसअघि दुई प्याकेजमा कन्सलटेन्सी छनौट गरी आफ्नो सेटिङका कम्पनीलाई दिएका सापकोटाले अहिले आठवटा प्याकेजमा टेण्डर गरेका छन् । आठवटा प्याकेजमा गरिएको कन्सलटेन्सीको छनौटमा सेटिङ गरिएका कम्पनीको अनुकुल हुने गरी प्रस्ताव माग गरिएको छ ।



    एउटा नगरपालिका भवन बनाउनका लागि एक करोड लागत स्टिमेट निकालेपछि कन्सलटेन्सी छनौट गर्दा वढीमा वार्षिक डेढ करोड रुपैयाँ कारोबार भएको कम्पनी हुनुपर्ने प्रावधानलाई उपयुक्त मान्न सकिन्छ । तर, सेटिङको परापर्शदातालाई अनुकुल हुने गरी स्टिमेट भन्दा वार्षिक १० गुण बढी कारोबार भएको कम्पनी हुनुपर्ने शर्त राखिएको छ । प्रस्तावमा यस्तो शर्त राखिनुका पछाडि सेटिङका कम्पनीलाई छनौट गर्ने दुर्नियत लुकेको कोषका एक अधिकारीेले बताए ।

    आठैवटा प्याकेजका ठेक्का आफ्नो सेटिङ भएको कम्पनीलाई दिएर ४० प्रतिशत कमिसन लिने चलखेलमा सापकोटा रहेका छन् । परामर्शका काममा ८० प्रतिशत भन्दा बढी फाइदा हुने भएकाले ४० प्रतिशत कमिसन दिएर कन्सलटेन्सीहरु काम लिने गर्दछन् । परामर्शको नाममाम नेपालमा हुने लुटधन्दाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन छ । निर्माणमा भन्दा परामर्शमा ब्रम्हलुट हुँदै आएको छ । सापकोटा स्वयं कन्सलटेन्सीका सञ्चालक समेत हुन् । उनले सञ्चालन गरेको सितारा कन्सलटेन्सीले सडक विभाग अन्तर्गतका आयोजनाहरुको परामर्शदाता छनौटमा चलखेल गर्दै आएको छ ।

    केपी शर्मा ओलीले कोषमा कार्यकारी निर्देशक नियुक्त गरेका सापकोटा पद बचाउनका लागि मन्त्री झाँक्रीको चाकडीमा लिप्त छन् । तर, नेकपा समाजवादीलाई मनपरी गालीगलौज गर्दै आएका केपी ओलीका पालामा नियुक्ति भएकाहरुलाई हटाउनु पर्ने दबाबमा मन्त्री झाँक्री छन् । सापकोटा आफू पनि नवलपरासीकै भएकाले मन्त्री झाँक्रीलाई भेगीय नाता लगाएर पदमा टिक्न सकिन्छ कि भन्ने आशमा छन् । नगर विकास कोषलाई सुदृढ गर्ने भन्दै आएका सापकोटा परामर्शदाता छनौटमा समेत कमिसन खान तल्लिन छन् ।

    नगर विकास कोषले गरेको परामर्शदाताको छनौट अपारदर्शी रहेकाले मन्त्री झाँक्रीले चासो दिनुपर्ने माग कोषका कर्मचारीले गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार