Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कतार प्रहरी भर्नामा राजदूतकै मिलेमतो, रकम असुली अझै रोकिएन

    कतार प्रहरी भर्नामा राजदूतकै मिलेमतो, रकम असुली अझै रोकिएन

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । कतार प्रहरीको जागिर विवादमा परेको छ । कोरिया जस्तै आकर्षक रोजगारीका रुपमा लिइने कतार प्रहरीको जागिरका लागि अल ताक्वेत ओभरसिज नेपालले प्रतिव्यक्ति १० देखि १५ लाखसम्म असुलेको गुनासो आएपछि वैदेशिक रोजगार विभागको टोलीले कम्पनीमा छापा मारेर अनुसन्धान थालेको छ । सरकारले कोरियामा जस्तै कतार प्रहरीमा पनि छनौट पद्धति लागू नगरे कतार प्रहरीको भर्नामा मेनपावरहरुले मनपरी असुली गर्ने अवस्था आएको छ । जुन अल ताक्वेतले सुटुक्क विज्ञापन गरी युवाहरुसँग रकम असुली गरेको घटनाले नै पुष्टि गरेको छ ।

    स्रोतका अनुसार अल ताक्वेतले नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अलहेलसँग साँठगाँठ गरी सुटुक्क एक दैनिक पत्रिकामा विज्ञापन प्रकाशित गरेर छनौट नै सुरु गरेपछि विवाद निस्किएको थियो । अल ताक्वेतका सञ्चालक अमित श्रेष्ठ र उनका पिता मनिराम श्रेष्ठले कतारका राजदूत अलहेलसँग मिलेर नेपालीलाई कतार प्रहरीमा पठाउने जिम्मा लिएको बताउने गरेका छन् । उनीहरुले नै राजदूत अलहेललाई पाँच करोड भन्दा बढी घुस दिइसकेकाले आफ्नै मेनपावरबाट मात्र कतार प्रहरीमा जान पाउने भन्दै प्रतिव्यक्ति १० देखि १५ लाख असुली गर्न एजेन्टहरु परिचालन गरेको एक एजेन्टले दावी गरेका छन् ।



    राजदूत अलहेलले कतार प्रहरीमा नेपाली युवाहरुलाई पठाउनका लागि अल ताक्वेतलाई नै दिनुका पछाडि उनले त्यो मेनपावरसँग लिएको ठूलो आर्थिक लाभ नै भएको आरोप छ । यसअघि २०७७ मंसिर १० गते अनुमतिविना कतार प्रहरीमा भर्तीका लागि अन्तर्वार्ता लिने तीन वटा म्यानपावरको कारोबार रोक्का गरेको थियो । विभागले एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलको कारोबार रोक्का गरेको थियो । नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले यी म्यानपावरको कारोबार रोक्का गरिएको जानकारी दिएको थियो ।



    कतारका राजदूत अलहेल नै अन्तर्वार्तामा गएका थिए । प्रहरीले छापा हानेपछि उनी पछाडिको ढोकाबाट लुसुक्क निस्एिपनि उनको सवारीसाधन भने होप इन्टरनेशनलको परिसरमै फेला परेको थियो । राजदूत नै अवैधानिक रुपमा कतार प्रहरीको छनौटमा लागेपछि त्यतिबेला पनि विवाद भएको थियो । राजदूतको गाडिसहितको फोटो समेत सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।

    अहिले अल ताक्वेतले राजदूतकै सेटिङमा कतार प्रहरीको लागि प्रकृया अगाडि बढाएको छ । त्यतिबेला होपसहितका तीनवटा मेनपावरले कतार प्रहरीमा भर्ना गर्ने भनी प्रतिव्यक्ति १० देखि १५ लाख असुलेका पीडितहरुले अहिलेसम्म पैसा फिर्ता पाउन सकेका छैनन् । उनीहरुलाई अल ताक्वेतमार्फत कतार प्रहरीमा पठाउने भनेर आश्वासन दिएर राखिएको थियो । राजदूत अलहेलले पहिले नै ‘घुस’ बुझिसकेकाले उनले अहिले अल ताक्वेतमार्फत कतार प्रहरीमा नेपाली पठाउन लागेका हुन् ।

    कतार राजतन्त्र भएको मुलुक हो । राजाको चाकडी गर्नेहरुमात्र राजदूतका रुपमा नियुक्ति हुने गर्दछन् । ती राजदूतको काम जसरी हुन्छ फाइदा लिनेमामात्र केन्द्रित हुने गरेको छ । अलहेललले नेपालमा राजदूत भएर आएपछि मेनपावरहरुमा डिमान्ड ल्याउनका लागि कतारस्थित नेपाली राजदूतसँग पनि समन्वय गर्दै आएका छन् । डिमान्ड ल्याउनका लागि कतारस्थित राजदूतावास, श्रम सहचारीदेखि नेपालस्थित कतारका राजदूतको पनि मिलेमतो हुने गर्दछ । यस अघिका कतारका राजदूत नारद वाग्ले भारद्धाज र हालका राजदूत नरेशविक्रम ढकालसँग पनि साँठगाँठ रहेको छ । कतार प्रहरीमा नेपाली युवा छनौटका लागि शारीरिक रुपमा फिट भन्दा पनि जसले बढी रकम बुझाउन सक्छ उसैलाई ग्रहायता दिने नीति अल ताक्वेतले लिएको छ ।

    अल ताक्वेतका सञ्चालकहरु बैदेशिक रोजगार विभागले छानविन गरिरहेपनि कतारी राजदूत अलहेलसँगको सम्बन्धका कारण कुनै कारबाही गर्न नसक्ने खुलमखुल्ला बताउन थालेका छन् । सबै प्रकृया पूरा गरिसकेको र विभागले नै स्वीकृती दिएकाले कतार प्रहरी छनौट हामी नै गर्छौं भन्दै उनीहरुले अहिले पनि युवाहरुसँग रकम संकलन गरिरहेको स्रोतले बतायो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पनि कतार प्रहरीको नाममा शंकास्पद कृयाकलापहरु सञ्चालन गरी व्यवसायलाई नै बद्नाम गराउने र अमर्यादित तुल्याउने गिरोहलाई कानूनी दायरमा ल्याउने बताइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार