Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • भौतिक मन्त्रालयद्वारा डीई र सुईहरुको सरुवा : मन्त्री समाजवादीका, सरुवामा कांग्रेस–एमालेको कब्जा

    भौतिक मन्त्रालयद्वारा डीई र सुईहरुको सरुवा : मन्त्री समाजवादीका, सरुवामा कांग्रेस–एमालेको कब्जा

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 2.6K
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मंगलबार निकालेको ६० उपसचिव(डीई) र १० सहसचिव(सुई)को सरुवामा मन्त्री प्रकाश ज्वालाकै पार्टी नेकपा समाजवादीनिकट कर्मचारीहरु अन्यायमा परेका छन् ।

    भौतिक मन्त्रालयले सरुवामा बिधि, पद्धतिको चरम उल्लंघन गर्दै ३ महिना अवधि भएकाहरुलाई पनि चलाएको छ । नेकपा समाजवादीकै केही सांसदले आर्थिक प्रलोभनमा परी एमाले र कांग्रेसनिकट डीईहरुलाई आकर्षक कार्यालयमा सरुवा गराएको आरोप छ ।



    नेकपा समाजवादी निकट कर्मचारीको माग सुनुवाइ नगरी नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन र एमाले निकट नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीलाई मात्र सरुवामा आकर्षक डिभिजन र आयोजनामा सरुवा गरेको आरोप मन्त्री ज्वालामाथि लागेको छ ।



    मदन भण्डारी मार्ग योजना कार्यालय गुल्मीका डीई माधव अधिकारीलाई ३ महिनामै सरुवा गरिएको छ । युवराज पोखरेल मध्यपहाडी दैलेखबाट मदन भण्डारी मार्ग योजना कार्यालय गुल्मीमा सरुवा भएका छन् ।

    पाल्पा सडक डिभिजनका प्रदीपमणि निरौलालाई तमोर करिडोरमा सरुवा गरिएको छ । पुल सेक्टर पोखराका नवराज बाँस्तोलालाई सडक डिभिजन पोखराको प्रमुखमा सरुवा गरिएको छ । निरौला र बाँस्तोलालाई आकर्षक कार्यालयबाटै आकर्षकमै लगिएको छ ।

    मदन भण्डारी मार्ग योजना कार्यालय दमकका सुबोधकुमार देवकोटालाई नुवाकोट सडक डिभिजनको प्रमुखमा सरुवा गरिएको छ । देवकोटा भौतिक मन्त्रालयमा जागिर खाएदेखि नै सधैं अरबौं बजेट भएका आयोजना र डिभिजनको प्रमुख हुँदैआएका छन् । उनी सडकमा अकूत सम्पत्ति आर्जन गर्नेमा पहिलो नम्बरमै पर्ने भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि कसैको नजर उनमा पर्न नसक्नुलाई निजामती प्रशासनमै आश्चर्यका रुपमा लिने गरिएको छ ।

    त्यसैगरी, नेकपा समाजवादीबाट दैलेखका सांसद अमरबहादुर थापालाई प्रभावमा पारी मध्यपहाडी लोकमार्ग दैलेखका प्रमुख डीई युवराज पोखरेल मदन भण्डारी योजना कार्यालय गुल्मीमा सरुवा मिलाउन सफल भएका छन् ।

    नेपाल निजामती कर्मचारी युनियन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय समितिका अध्यक्ष खुमबहादुर भण्डारीलाई सुर्खेत डिभिजन सडक डिभिजनको कामु प्रमुखको जिम्मेवारी दिइएको छ । लक्ष्मण रावललाई खुटिया बीपीनगर सडक योजनाको कामु प्रमुखको जिम्मेवारी दिइएको छ । जबकि डिभिजनको प्रमुख कामु दिने प्रचलन छैन । रावल अवसरका लागि नेकपा समाजवादीको सदस्यता लिन समेत तयार भइसकेका पात्र हुन् । नेपाल निजामती कर्मचारी युनियनका तर्फबाट आधिकारिक ट्रेड युनियन अध्यक्ष रहिसकेका नेत्र देवकोटालाई सहिदमार्ग रोल्पाको प्रमुखमा पठाइएको छ ।

    निजामती कर्मचारी युनियनकै लक्ष्मण जोशीलाई दार्चुला–टिंकर सडक योजनाको प्रमुखमा सरुवा गरिएको छ । वीरेन्द्रबहादुर चन्दलाई हिल्सा–सिमीकोट सडक तल्लो र माथिल्लो दुवैको जिम्मेवारी दिइएको छ । यसअघि उनी हिल्सा–सिमीकोट सडक आयोजनाको एक खण्डको मात्र प्रमुख थिए । अख्तियारको दबाबमा उनलाई अहिले दुवै आयोजनाको प्रमुखको जिम्मा दिइएको छ ।

    यी केही प्रतिनिधि उदाहरण हुन्, सडकका सरुवामा भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्री ज्वालालाई समेत गुमराहमा पारी एमाले र कांग्रेसनिकटहरुलाई मात्र आकर्षक ठाउँ दिएको आरोप छ ।

    त्यस्तै, मौसम अनुसार एमाले र कांग्रेस हुनसक्ने ललिजन खनाललाई संघीय सडक सुपरीवेक्षण कार्यालय पोखराबाट सडक विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ । एमालेकै कार्यकर्ताका रुपमा चिनिने शुभराज न्यौपानेलाई हुलाकी राजमार्ग आयोजना निर्देशनालयबाट संघीय सडक सुपरीवेक्षण कार्यालय पोखराको प्रमुखमा सरुवा गरिएको छ । एमालेनिकट कुवेर नेपालीलाई भौतिक मन्त्रालयबाट मध्यपहाडी सडक आयोजनाको प्रमुखमा सरुवा गरिएको छ ।

    सरुवामा सचिव हावी हुँदा मन्त्री ज्वाला निरीह देखिएका छन् । सडकका रैथाने र अकूूतवालाहरुले मात्र अवसरमाथि अवसर पाउने गरेको यो पटकको सरुवाले प्रमाणित गरेको भौतिक मन्त्रालय स्रोत बताउँछ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार